काठमाडौं, बैशाख २२। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउनु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताउनु भएको हो । उहाँले राज्यको लगानीमाथि नागरिककोको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताउनुभयो ।
‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको छ,’ उहाँले भन्नुभयो ।
जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने उहाँले बताउनुभयो । ‘लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न,’ उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारबाही नागरिकप्रति जबाफदेही हुनै पर्दछ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताउनुभयो ।
पारदर्शिता र जबाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उहाँको भनाइ छ । ‘त्यही भएर भन्ने गरिन्छ-सूचना नै लोकतन्त्रको प्राण वायु हो’, पौडेलले भन्नुभयो । सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारबाहीप्रति नागरिकको परीक्षण र मूल्याङ्कन गराउने उहाँको धारणा छ । उहाँले यसबाट नै सरकारप्रतिको विश्वास अभिवृद्धि हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्