काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणको बिषयलाई लिएर शहरी बिकाश मन्त्रालय र निर्माण कम्पनीसँग स्पष्टिकरण लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले सोमवार मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर तोकिएको समयमा किन काम भएन भनेर स्पष्टिकरण लिनुभएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गत बर्षको असार १७ गते सहमति भई असार २८ गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले असार ३१ गते कार्यभार सम्हालेकै दिन बसेको मन्त्रिपरिषद बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३ सय दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सो निर्णयअनुसार यही बैशाख २४ गते अर्थात बुधवार ३ सय दिन पुग्छ । तोकिएको समय पुग्ने बेलासम्म काम नभएपछि प्रधानमन्त्री ओलीले स्पष्टिकरण लिनुभएको हो ।
‘यो सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३ सय दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो। पर्सी २४ गते ३ सय दिन पुग्दै छ । किन समयमै काम नसकेको भनेर शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु,’ बैठकबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्रीका अनुसार मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिले तोकिएको समयभित्र काम सम्पन्न नहुनुमा कानूनी झमेलालाई औल्याएका छन ।
‘उहाँहरू (मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधि) ले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको बताउनु भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
मन्त्रालय र निर्माण कम्पनीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गरिसक्ने प्रतिवद्धता प्रधानमन्त्रीसामू गरेका छन । जवाफपछि प्रधानमन्त्री ओलीले थपिएको सो समयमा काम पूरा नभए सैह्य नहुने चेतावनी दिनुभएको छ ।
‘आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ । कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्थ्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको छु । असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउने छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । प्रधानमन्त्री ओलीले कुन लापर्वाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरुपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन पनि दिनुभयो ।
मन्त्रालय सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीचको समन्वयमा समय लागेकाले समयमा बोलपत्र आव्हान हुन नसकेको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन भएको, केही दिन वर्षाले काम अवरोध भएको, एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्वीकार्दै अबको एक महिनाका काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा प्यारापेटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो । प्यारापेटका लागि रु ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्