जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १८:४९

सम्पादकमा जीवनाथ शिवाकोटी, सहसम्पादकमा नवराज पथिक नियुक्त


काठमाडौं, बैशाख ३० । जनताटाइम्स डटकमको सम्पादकमा जीवनाथ शिवाकोटी नियुक्त हुनुभएको छ । सुयोग मिडिया हाउसको सञ्चालक समिति बैठकले जेठ १ गतेबाट लागू हुने गरी सम्पादकमा शिवाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय शिवाकोटी स्थापनाकालदेखि नै जनताटाइम्सको सम्पादन कार्यमा संलग्न रहनुभएको थियो । बिसं २०६३ सालमा च्यानल नेपाल टेलिभिजनबाट पत्रकारिता सुरु गर्नुभएका शिवाकोटी सो टेलिभिजनको समाचार प्रमुखको जिम्मेवारीमा समेत रहेर काम गर्नुभयो ।

यस्तै राजधान दैनिक, माउन्टेन टेलिभिजनलगायतका टेलिभिजनमा काम गर्नुभएका शिवाकोटीले त्रिभिुवन बिश्वबिद्यालयबाट पत्रकारितामा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । शिवाकोटी संस्थापक सम्पादक स्वर्गीय शान्तिराम कार्कीका सहकर्मी समेत हुनुहुन्छ । च्यानल नेपाल टेलिभिजनमा शिवाकोटी स्वर्गीय कार्कीसँगै सेवा सुरु गर्नुभएको हो ।

नवनियुक्त सम्पादक शिवाकोटीले माउन्टेन टेलिभिजनको डेक्स प्रमुख र राजधानी दैनिकको समाचार सम्पादकको रुपमा जिम्मेवारी पूरा गर्नुभएको थियो । दोलखाको कालिञ्चोक गाउँपालिकाको लामिडाँडा निवासी शिवाकोटी आर्थिक, सुरक्षा मामिला र खोजी पत्रकारितामा बिशेष रुची हुनुहुन्छ ।

सञ्चालक समिति बैठकले शिवाकोटीको नियुक्तिसँगै सम्पादक यसिमा महतले दिनुभएको राजीनामा स्वीकृत गरेको छ । सञ्चालक समितिले हालसम्म सम्पादक महतले संस्थालाई पुर्याएको योगदानप्रति धन्यवाद दिएको छ ।

यसैगरी सञ्चालक समितिले बिगत तीन दशकदेखि पत्रकारितामा सक्रिय नवराज पथिकलाई सहसम्पादकमा नियुक्त गरेको छ ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पथिक यसअघि सनराइज खवरमा कार्यरत हुनुहुन्थ्यो ।

सिन्धुलीको सिन्धुल साप्ताहिकबाट २०४८ सालमा पत्रकारिता सुरु गर्नुभएका पथिकले हालसम्म हिमालय टाइम्स, श्री सगरमाथा दैनिक, नेपाल समाचार पत्र दैनिक, नेपाल वान टेलिभिजन जस्ता ठूला सञ्चार संस्थामा काम गरिसक्नु भएको छ । यस्तै उहाँले दृष्टि, जनआस्था, बुधवार साप्ताहिकमा पनि काम गर्नुभएको छ । रामेछाप नगरपालिका-८ बाबियाखर्क निवासी पथिकले त्रिभुवन बिश्वबिद्यालयबाट स्नातक गर्नुभएको छ ।