काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकासको गतिमा अघि बढेको बताउनुभएको छ ।
युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि नेपाल आर्थिक विकास र सुशासनका क्षेत्रमा गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठुला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन गरेको बताउनुभयो । नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेको बताउनुभयो । अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको ओलीले स्पष्ट गर्नुभयो । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसाथ गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहेको र अन्य मुलुकसँग पनि मित्रवत् सम्बन्ध रहने उहाँले स्पष्ट गर्नुभयो ।
ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिनुभयो । हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै सो शृङ्खलाको निरन्तरता हुने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास दिलाउनुभयो ।
सो क्रममा नेपाल र युरोपियन युनियनबिचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।
भेटमा युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताउनुभएको थियो । उहाँहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेकोमा खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गर्नुभयो ।
राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिनुभयो । जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्