जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार २१:०२

 नेतृत्व माथि पनि प्रश्न उठाउन पाइन्छ, तर प्रश्न गर्ने ठाउँ हुन्छ : माधव ढुङ्गेल 


रामेछाप,  ५ जेठ । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टी विधि र पद्धतिमा चल्नु पर्ने बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको खाँडादेवी गाउँपालिका कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै ढुङ्गेलले विधि पद्धतिमा नचल्ने पार्टी अराजक हुने र त्यसले कसैलाई पनि लाभ नहुने बताउनुभयो । उहाँले सिष्टममा चल्ने कुरा नै पार्टी पद्धति भएको स्पष्ट पार्नुभयो ।

पार्टी भित्र असन्तुष्टि र फरक मत हुनसक्ने बताउँदै ढुङ्गेलले त्यसलाई पनि व्यक्त गर्ने ठाउँ हुने बताउनुभयो । सम्बन्धित विषयहरू सम्बन्धित ठाउँमा नै व्यक्त गर्नुपर्ने उहाँको धारणा छ । ‘नेतृत्व माथि पनि तपाईँहरूको प्रश्न हुन सक्छ, त्यो तपाईँहरूले उठाउन पर्छ, उठाउन पाइन्छ, पार्टी बैठकमा त्यसको छलफल हुन्छ, तर पार्टीका आन्तरिक कुरा बाहिर गएर व्यक्त गर्नु पार्टी अनुशासन होइन’, उहाँले भन्नुभयो ।

काम गर्ने मान्छेबाटै कमजोरी हुने बताउँदै उहाँले कमजोरी सच्याएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘हामी हाम्रा कमजोरी सच्याउन तयार छौँ, भुल सुधारेर अघि बढ्छु, कमजोरी सुधारेर अघि बढ्छु भनेर सङ्कल्प गर्दा कहिल्यै सानो होइँदैन’, उहाँले भन्नुभयो ।

नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष मोतीलाल तामाङको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा भएको बैठकमा बैठकमा जरा अभियानको समीक्षा, पार्टी सदस्यता नवीकरण, आचार संहिताको कार्यान्वयन, स्थानीय सरकारलाई नीति निर्माणमा सुझाव, सचिवालयको गठन लगायतका विषयमा छलफल भएको पालिका कमिटी सचिव रमेश केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रेम तामाङ, प्रदेश कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, पार्टी नेताहरू प्रेमबहादुर खड्का, इन्द्र तामाङ, केशव प्रधान, जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्की, उपसचिव मखमली श्रेष्ठ, लगायत सहभागी हुनुहुन्थ्यो ।