जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार १८:२४

राज्यको दोहन गरेर खान पल्केकाहरू अहिले केही खान पाइएन भनेर भ्रम फिँजाउने काममा लागे : शंकर पोखरेले 


काठमाडौं, जेठ ५। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३२ सिटेहरूले ठुला पार्टीमाथि शासन गर्न नपाउँदा अहिले निकै छटपटिएको बताउनु भएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । एमाले महासचिव पोखरेलले ३२ सिटको म्याजिक नम्बर (माओवादी र सो दलका अध्यक्ष प्रचण्ड) ले कांग्रेस र एमालेमाथि शासन गर्न नपाउँदा अहिले छटपटाइ रहेका बताउनु भयो । अहिले सरकार र एमाले माथिको प्रहार त्यसैको उपज भएको बताउनुभयो ।

मुलुक बिगार्न नदिने भयो भनेर नै नेकपा एमालेले नै उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्री बनाइदिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पनि एमालेविरुद्ध खनिएका पोखरेलले बताउनुभयो । आफ्नो कर्मको परिणापस्वरुप जेल रास्वपा अध्यक्ष रवि लामिछाने जेल परेका बताउँदै रास्वपा कार्यकर्ता एमालेको विरुद्ध खनिनु बेकार भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

जान्नेलाई छान्ने भन्नेहरू जनतालाई झुक्क्याउने काममा लागेका उहाँले बताउनुभयो । आफ्नो भविष्य अन्धकार हुँदा सो पार्टीका नेता कार्यकर्ताहरूले एमाले माथि प्रहार गरिरहेका पोखरेलको भनाइ छ । राप्रपामा पनि त्यस्तै चरित्र रहेको उहाँले बताउनुभयो  । सांसद र मन्त्री बन्न एमाले चाहिने तर त्यो नभएपछि एमाले कामै नलाग्ने भन्दै उनीहरू हिँडेका पोखरेलले बताउनुभयो । अहिले दुई ठुला पार्टी मिलेपछि आफ्नो दिन नआउने भयो भनेर साना पार्टीहरू एमालेको विरुद्ध खनिएका उहाँको धारणा छ ।

उहाँले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने होइन आँट र हिम्मतका साथ खुट्टा टेक्नु पर्ने बताउनुभयो । एमालेले समाजलाई मर्यादित दिशामा लैजानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हिजो राजतन्त्रको बेलामा खान पल्केकाहरू अहिले लोकतन्त्रले केही दिएन भनेर भ्रम फिँजाउने काममा लागेको पोखरेलले बताउनुभयो । पञ्चायतमा भएको विकास र लोकतन्त्र प्राप्ति पछि भएको विकासको तुलना गरेर हेर्न उहाँले आग्रह गर्नुभयो ।

नेकपा एमालेका सामु ठुला ठुला सङ्कट आउँदा पनि एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको उहाँले स्मरण गराउनुभयो । सबै खालका सङ्कट सामना गर्दै नेकपा एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको पोखरेलले स्पष्ट पार्नुभयो । समाजलाई विखण्डनको प्रयास भइरहेको बताउँदै उहाँले नेकपा एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

हरेक पटक नेकपा एमाले सत्तामा आए पछि देश विकासको गतिमा अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । तर पार्टीले गरेको कमलाई जनताको बिचमा लैजान नसक्दा एमाले पछाडि परेको पोखरेलले बताउनुभयो । जबसम्म २०८४ सालको निर्वाचन हुँदैन तबसम्म दुई ठुला पार्टी बिचको गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । यसमा दुवै दलका नेता प्रतिबद्ध रहेका पोखरेलले सुनाउनुभयो ।