जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार ०६:३१

आज यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं, ७ जेठ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

महाशाखाले आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।