पोखरा, जेठ १२ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
पोखरामा जारी १०औं महाधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्षमा थेवे र पुरी भिड्ने पक्का भएको हो । अध्यक्षमा उम्मेदवारी दिएका दुवै जना प्यानलसहित चुनावी मैदानमा उत्रनुभएको छ ।
थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिनुभएको छ भने पुरीको प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बन्नुभएको छ । युवा संघले पार्टी निर्णय लत्याउँदै उपाध्यक्षमा पुरुष र महिला एक एक जना हुनुपर्ने ब्यवस्थाको साटो महिला सचिव राखेर दुवै पुरुष हुने ब्यवस्था गरेको छ । सोहीअनुसार थेवे र पुरीले आफ्नो टीम सार्वजनिक गर्नुभएको हो ।
यस्तै महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिनुभएको छ । यस्तै थेवेको प्यानलबाट उपमहासचिवमा उपेन्द्र शाहीले मनोनयन दर्ता गराउनु भएको छ ।
थेबेको प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेतले उम्मेदवारी दिनुभएको छ । यस्तै महिला सचिवमा निशा लिम्बु र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी दिनुभएको छ ।
यसैगरी लेखा आयोगको अध्यक्षमा किसुन जैशीले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, अनुशासन आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा थेवेको टीमबाट अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
उता सुमन पुरीको प्यानलबाट उपमहासचिवमा खेमराज शर्माको उम्मेदवारी दिनुभएको छ भने सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी रहेको छ । महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादवले उम्मेदवारी दिनुभएको छ ।
पुरीको प्यानलबाट निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुशासन आयोगमा अजयजङ्ग शाही तथा युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषले उम्मेदवारी दिनुभएको छ ।
नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान हुन लागेको हो । गत शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान मंगलवार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्