काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुनजन्य विपद्बारे नागरिकले सहजै बुझ्न सक्नेगरी सूचना सम्प्रेषण गर्न निर्देशन दिनुभएकोछ । आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा मंगलबार बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर ओलीले यस्तो निर्देशन दिनुभएको हो । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान/सूचना प्रवाहबारे जानकारी ओलीले यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति रोक्न सकिनेबारे प्रधानमन्त्री ओलीले चासो लिनुभएको हो । विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभएको हो ।
विभागका सबै स्टेशन तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो े। विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराउनुभएको थियो । विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उहाँले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्च अधिकारी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्