ज्ञानकुमार श्रेष्ठ
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । हाम्रा पुर्खाहरूले बोलेका यस्ता उखानहरूमा गहिरो जीवनदर्शन छ । आज पनि यी उखानहरूले हाम्रो सामाजिक, राजनीतिक र बौद्धिक अवस्थाको वास्तविक चित्रण गर्छन् ।
सत्य बोल्नेलाई खिसी गरिन्छ, गम्भीर विषय उठाउनेलाई गाली गरिन्छ । अनि जब मौनता हाबी हुन्छ, त्यही मौनतामा असत्य मौलाउँछ ।
आजको नेपालमा हामी यस्तै अवस्थामा उभिएका छौँ, जहाँ सही र असल कुरा बोल्नेको आवाज ओझेलमा परेको छ । सयौँ झुट बोल्नेहरू नदीजस्तै बग्छन् । यो समय कलियुगको असुर शासनको झल्को दिने अवस्थातर्फ लम्किँदै छ । जहाँ किरा, वनका तस्कर र बनमारा झारले राम्रो बालीलाई सखाप पार्न थालेका छन् ।
प्राकृतिक नियम र मानवीय चेतना
प्रकृतिमा राम्रा नराम्रा सबै कुरा छन् । यही प्रकृतिमा विष पनि छ, अमृत पनि छ । काँडा पनि छ फूल पनि छ ।
समस्या त्यसमा होइन, समस्या हामी मान्छेमा हो । जसले काँढालाई फूल सम्झन्छ र काँढा माथि खुट्टा राख्छ ।
प्रकृतिको नियमसँग मेल खाएर मानव समाजले पनि आफ्ना बिघ्न कारक तत्त्वहरूमाथि नियन्त्रण गर्नु आवश्यक छ । गलत तत्त्वहरूसँग पनि सन्तुलनपूर्ण व्यवहार गर्दै समाजलाई उन्नतिको दिशामा लैजानुपर्ने छ । तर आज हामीले त्यो नियमनको ठाउँमा मौनता रोजेका छौँ । दोषीहरू जोसिएका छन् । इमानदारहरू थाकेका छन् ।
राजनीतिक दलमाथिको सुनियोजित आक्रमण
आज नेकपा एमाले, नेपाली कांग्रेसजस्ता दलहरू, जसले समाज रूपान्तरणका लागि आफ्नो जीवन अर्पण गरेका छन् । ती दलका अगुवाहरू निराश भइरहेका छन् । उनीहरू थाकेका जस्ता भएका छन् । “मैले के पाएँ त ?” भन्ने भावले उनीहरूको ऊर्जा क्षीण हुँदै छ । उनीहरू पार्टी, नेता र नेतृत्व माथि आक्रमण हुँदा मौन भएका छन् ।
सामाजिक सञ्जालमा आज नेतृत्वमाथि सुनियोजित ढङ्गले हल्ला फैलाउने, झुटा आरोप लगाउने र विकृति मात्र देखाउने काम भइरहेको छ । विपक्षीहरू आलोचना गर्छन् तर पार्टीभित्रका नेताहरू त्यसको खण्डन गर्दैनन् । यो अझै खतरनाक मौनता हो ।
विडम्बना नै भन्नुपर्छ आज मेहनत, त्याग र सपना बोकेर हिँड्ने कार्यकर्ता ‘झोले’ भनेर खिसीको पात्र बनेका छन् । समाजमा भ्रम सिर्जना गरेर पार्टी नेतृत्वलाई बदनाम गर्न खोजिन्छ । ती आलोचना गर्नेहरू त विदेशीको दलाली गर्ने, ठूला महलमा बस्ने र शोषण प्रणालीको लाभ लिनेहरू हुन् ।
“बोल्नेको पिठो बिक्छ” भन्ने उखान आज चरितार्थ भइरहेको छ । सत्य बोल्नेहरूलाई झुटो प्रचारले दबाउने, गाली गर्ने, समाजमा प्रतिगामी प्रवृत्ति बलियो बनाउने काम भइरहेको छ । असल मान्छे मौन छन्, खराब तत्त्वहरूको हाबी भएको छ ।
हामीले सुन्दै आएका छौँ कुकुरले खुट्टो टोकेकोमा कुकुरलाई टोक्नुहुँदैन । तर आज बाँदरले घर भत्काइरहँदा पनि हामी मौन छौँ । त्यसैले यो विवेक होइन, यो त आत्मसमर्पण हो ।
प्रविधिको युग र प्रतिवादको माध्यम
आज विज्ञान, सूचना, सञ्चार र कृत्रिम बौद्धिकताको युग हो । हिजो सडकमा विरोध गरिन्थ्यो, आज सामाजिक सञ्जाल नै आन्दोलनको मोर्चा बनेको छ । यदि हामी त्यहाँ चुप लाग्यौँ भने दलाल, अपराधी, राष्ट्रघाती र माफियाहरूको गठबन्धनले हाम्रो समाजलाई फेरि पनि अँध्यारोतर्फ धकेल्नेछ । देश र समाजलाई उल्टो दिशा तर्फ अघि बढाउने छ ।
यही प्रविधिलाई प्रयोग गरेर सहरका बोर्डिङ स्कुलमा पढेका, विदेशमा श्रम गरेर फर्किएका युवाहरू विकसित समाजको तुलनामा आफ्नै देशको यथार्थप्रति आक्रोशित छन् । त्यो आक्रोश सही दिशामा छैन । विकास किन भएन भन्नेमा सिधा पार्टी दोषी ठहरिन्छन्, न नीति पढिन्छ, न प्रयास बुझिन्छ ।
जुन आन्दोलनले आज नागरिकलाई अधिकार सम्पन्न बनाएको छ त्यसैको विरुद्ध सामाजिक सञ्जाल मार्फत प्रहार भइरहेको छ । हामीले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै आक्रमण हुन थाल्यो भने त्यो केवल एउटा पार्टी विशेषको समस्या होइन—देशको अस्तित्व माथि नै सङ्कट हुनेछ । व्यवस्था माथि नै सङ्कट हुने छ ।
विकासको बिउ गाउँमै रोपिँदै छ
अहिले यो व्यवस्थाले केही दिएन, यो भन्दा राजतन्त्र नै ठिक थियो भन्ने भ्रम फिँजाइँदै छ । म त्यही पात्र हो जो २०५४ सालमा रामेछापको भिरपानी गाविस अध्यक्ष हुँदा गाउँमा एउटा घरमा पनि शौचालय थिएनन् । बिजुलीबत्तिको त कुरै थिएन । मोबाइल एकादेशको कथा थियो । सडक कल्पना भन्दा बाहिर थियो । गाउँमा खानेपानीको सङ्कट थियो । एक क्वायल पाइप दियो भने गाउँका मानिसहरूलाई राज्य नै पाइ जस्तो हुन्थ्यो ।
२०५४ सालमा गाविस अध्यक्ष हुँदा भिरपानी गाविसका जनताको घरघरमा शौचालय बनाउने, उन्नत चुल्हो जडान गर्ने र सौर्य ऊर्जा पुर्याउने अभियानमा लागेको थिएँ । घर घरमा शौचालय बनाउने अभियान थाल्दा धेरैले बस्ने गतिलो घर छैन, हग्ने चर्पी भनेर खिसी गरे । आज सबैका घरमा शौचालय छन् । खानेपानीको धारा छन् । सबै घरमा बिजुली बलेको छ । गाउँमा पक्की बाटो पुगेको छ । सबैका हात हातमा मोबाइल छन् । काठमाडौंबाट ३ घण्टामा गाउँ पुगिन्छ ।
म त्यही मान्छे हुँ २०७८ सालमा प्रदेशलाई खान र लाउन आत्मनिर्भर बनाउने नीति निर्माणमा सहभागी भएँ । प्रदेशको योजना आयोगको सदस्य भएर केही न केही योगदान गरेँ भन्ने लाग्छ ।
आज म खाँडादेवी गाउँपालिकाको अध्यक्ष छु । अहिले गरिब किसानको आर्थिक अवस्था सुधारको लागि लागि बाख्राको खोर बनाउँदै छु । खोर बनाउनेलाई अनुदान बाँड्दै छु । कृषि कर्म गर्नेलाई बिउ र बिरुवा पुर्याउँदै छु ।
शिक्षाको पहुँचलाई १० गुना बढाएको छु । गाउँका बच्चाहरूलाई स्कुलमै दिउँसोको खाजा खाने व्यवस्था मिलाएको छु । बोर्डिङ स्कुलजस्तै सरकारी स्कुल सञ्चालन गरेर सहरको शिक्षालाई गाउँमा ल्याइएको छ ।
बाख्रा पालन कार्यक्रममार्फत १० माउ बाख्रासहितको योजना लागू भइरहेको छ । जसबाट २ हजार खोरमा २० हजार उन्नत बाख्रा हुर्काइँदै छ । जसबाट ५० हजार पाठा पाठी उत्पादन हुनेछन् । यसले कम्तीमा १ अर्ब रुपैँया गाउँमा आम्दानी हुने आँकलन छ । जसको प्रत्यक्ष लाभ स्थानीयलाई हुनेछ ।
हामी कृषि, पशुपालन र रैथाने बालीमा आत्मनिर्भर बन्ने हो भने विदेश जानुपर्ने अवस्था नै आउँदैन । गाउँमै समृद्धिको ढोका खुल्न सक्छ ।
सही नेतृत्वको बचाउ र सामाजिक उत्तरदायित्व
नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता दलहरूलाई जनताले दिएको समर्थन केवल सत्तामा पुग्न मात्र होइन, समाज रूपान्तरण गर्न हो । तर ती दलहरूका नेतृत्वलाई सामाजिक सञ्जालमार्फत योजनाबद्ध ढङ्गले आक्रमण गरिन्छ ।
लोकतन्त्रमा आलोचना जायज छ, तर त्यसको आधार तथ्य र यथार्थ हुनुपर्छ । भावना र हल्लाले होइन । सामाजिक सञ्जालमा आएको भ्रमलाई यथास्थितिमा छोड्ने हो भने, त्यो विषको असर भविष्यमा संघीय लोकतान्त्रिक गणतन्त्रमा नै पर्ने छ ।
मौनता खतरनाक हुन्छ
हाम्रो पुस्ताले ल्याएको परिवर्तन, संविधान र समावेशी प्रणालीमाथि प्रश्न उठाउँदा हामी चुप लाग्ने हो भने, फेरि पञ्चायती भूत उठ्नेछ । त्यो अँध्यारो शासन जहाँ बोल्न पाउँदैन थियौँ, जहाँ छोरी बुहारीहरू सुरक्षित थिएनन्, जहाँ सामाजिक सुरक्षा थिएन, हामी त्यतै फर्कने छौँ ।
यदि आज हामीले यसलाई रोक्न सकेनौँ भने, पञ्चायती कालरात्रि फेरि फर्कन सक्छ । फेरि देश मुठ्ठीभर दलालहरूको हातमा पुग्न सक्छ । फेरि बोल्ने र लेख्ने त के कुरा सास फेर्न पनि कर लाग्ने समय आउन सक्छ । यसले हामीलाई फेरी पनि जङ्गली युगमा फर्काउने छ ।
त्यसैले आजको आवश्यकता हो, सामाजिक सञ्जालमै यथार्थको प्रतिवाद गर्ने। । हाम्रो पार्टीको नीति, विचार र उपलब्धिको सही प्रचार गर्ने । दलाल माफिया प्रवृत्तिको पर्दाफास गर्ने ।
सकारात्मक शक्ति निर्माण गरौँ
आज हामीले बोकेको हँसिया–हथौडा केवल सिम्बोल होइन, त्यो जनताको शक्ति र उत्पादनशील श्रमको पहिचान हो । हामी ‘झोले’ कार्यकर्ता हो, जसले सपना बोकेर हिँड्छ, परिवर्तनको बीउ रोप्छ ।
हामीले बुझ्नुपर्छ, प्रकृतिको नियम स्वतःस्फूर्त छ । खराब तत्त्वहरू मौलाउँछन्, असल मान्छेहरूलाई दुःख दिन्छन् । त्यसैले असल तत्त्वहरूको संरक्षण, विस्तार र उन्नयन हाम्रो जिम्मेवारी हो ।
विज्ञान, सूचना र प्रविधिको युगमा हामी मौन बस्न सक्दैनौँ । सत्य बोलेर, यथार्थ देखाएर, उपलब्धिको रक्षा गरेर, झुटको पर्दाफास गरेर मात्र हामीले लोकतन्त्र, गणतन्त्र र समृद्ध नेपालको यात्रालाई सुनिश्चित गर्न सक्छौँ । त्यसैले हामी सबै मिलेर सामाजिक सञ्जालमा प्रतिवाद गरौँ । विचार र योजनाका पक्षमा आवाज बुलन्द बनाऔँ । संघीय लोकतान्त्रिक गणतन्त्रको वकालत गरौँ । विकासका उपलब्धिहरूको प्रचार गरौँ । यही नै आजको आवश्यकता हो, यही नै आजको सङ्घर्ष हो ।
यो कुनै पार्टी विशेषको पक्षमा होइन । यो त नेपाली जनताको अधिकार, स्वतन्त्रता र स्वाभिमानको रक्षको पक्षमा हो । यही हो हाम्रो आजको जिम्मेवारी र आवश्यकता । जस्तालाई त्यस्तै भन्नु अब केवल आक्रोश होइन, यो आजको अपरिहार्य आवश्यकता हो । जय लोकतन्त्र, जय गणतन्त्र ।
(लेखक रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष हुनुहुन्छ)
प्रतिक्रिया दिनुहोस्