जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार १२:२२

२०८४ को चुनावमा डिजिटल लडाइँ हुन्छ, चुनाव प्रचार पनि डिजिटल प्लेटफर्ममा नै बढी हुन्छ : राजेन्द्र गौतम 


भक्तपुर, २३ जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्व माथि आक्रमण हुँदा पार्टी कार्यकर्ता मौन बस्न नहुने बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा शुक्रबार बोल्दै गौतमले पार्टी र नेतृत्व माथि चौतर्फी आक्रमण हुँदा पनि एमालेका नेताहरूले नै आफ्नो धारणा सार्वजनिक नगर्नु दुर्भाग्यको कुरा भएको बताउनुभयो । ‘पार्टी माथि गलत आरोप लगाएर आक्रमण गर्दा पनि हामी धेरै नेता नै मौन बसेका छौँ’, उहाँले भन्नुभयो ।

एमाले विरुद्ध भएको भ्रामक प्रचारलाई चिर्न र पार्टीको तर्फबाट देश र जनताको हितमा भएको काम जनतासम्म पुर्‍याउन सञ्चार क्षेत्रको सहयोगको गौतमले अपेक्षा राख्नुभयो । यसको लागि पार्टीले सञ्चार संस्थासँग नियमित सम्पर्क र सम्बन्ध कायमा राख्ने उहाँले जानकारी दिनुभयो ।

एमाले सरकामा रहँदा गरेका धेरै कामका फेहरिस्त भएको बताउँदै गौतमले ती फेहरिस्त सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जनताको बिचमा पुर्‍याउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘पार्टी प्रचारको काम सबैभन्दा महत्वको काम हो, २०८४ को निर्वाचनमा डिजिटल वार हुन्छ, यसको तयारी गरिएन भने हामी पाखा लाग्ने अवस्था आउँछ’, उहाँले भन्नुभयो ।

अहिले पनि नेकपा एमालेमा सकारात्मक समाचार सम्प्रेषण हुन नसकेका बताउँदै गौतमले यसलाई कसरी प्रभावकारी रूपमा लैजान सकिन्छ भन्ने विषयमा सोच्नु पर्नेमा जोड दिनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि र पत्रकारको बिचमा पनि ठुलो ग्याप भएको बताउँदै उहाँले त्यसमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गर्दा स्थानीय तहले गरेको काम जनताको बिचमा पुर्‍याउन सकिने गौतमको धारणा छ ।