जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार २२:३७

पूर्वपञ्च र मण्डलेहरू लोकतन्त्रले केही दिएन भनेर भ्रम फिँजाउँदै छन् : शंकर पोखरेल 


काठमाडौं, २३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र पञ्चायतमा कुनै तुलना नै हुन नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी द्वारा आयोजित आर्थिक वर्ष २०८२/०८३ को बजेट विमर्श कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले पनि पूर्वपञ्च र मण्डलेहरूले लोकतन्त्रले के दियो भन्ने लज्जास्पद अभिव्यक्ति दिने गरेका बताउनुभयो । ‘जनताको बिचमा भ्रमपूर्ण प्रचार गरिराखिएको अवस्था छ, पञ्चायतको तुलनामा लोकतन्त्रमा उल्लेख्य परिवर्तन भएको छ’, उहाँले भन्नुभयो ।

पञ्चायतको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक विकासमा उल्लेख्य परिवर्तन भएको उहाँले दाबी गर्नुभयो । तथापि विश्व अर्थव्यवस्था अनुसार नेपालको आर्थिक विकास जुन गतिमा हुनु पर्ने थियो, त्यस्तो हुन नसकेको उहाँले सुनाउनुभयो । पञ्चायतमा के थियो र अहिले के भन्ने कुरा सबैका अगाडि छर्लङ्ग उहाँले बताउनुभयो ।

अहिले विश्व अर्थतन्त्रको तुलनामा नेपालको गति अघि बढाउने कुरा भने निक्कै चुनौतीपूर्ण रहेको पोखरेलले बताउनुभयो । केपी ओली प्रधानमन्त्री भएका बेला निक्कै गति लिएको नेपालको अर्थतन्त्र राजनीतिक अस्थिरताको कारण मन्दीको अवस्थामा पुगेको उहाँको भनाई  छ । अहिले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि त्यसमा क्रमशः सुधार हुँदै आएको पोखरेलको भनाइ छ ।

राज्यको कोष बढाउने भन्दा आफ्नो स्वार्थ पुरा गर्ने काममा जिम्मेवारीमा रहेका मानिसहरू लाग्दा नेपालको अर्थतन्त्र कमजोर भएको उहाँले बताउनुभयो । राजनीतिक नेतृत्व सहितको अर्थ प्रशासन कमिसनको चक्करमा लाग्दा देशको अर्थतन्त्र निक्कै कमजोर भएको उहाँको भनाइ छ । नेपालको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा नल्याउँदासम्म देश आर्थिक रूपले सबल नहुने उहाँले बताउनुभयो । अहिलेको सरकाले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने प्रयास गरेको पोखरेलले दाबी गर्नुभयो ।

नेपालको अर्थतन्त्र कमजोर हुनेको प्रमुख कारण घरजग्गाको कारोबार भएको पनि उहाँले बताउनुभयो । घरजग्गामा गरेको लगानी डुब्दा देशको अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको धारणा छ ।

निजी क्षेत्र हतोत्साहित हुँदा मुलुकको राजश्व घट्ने कुरालाई महसुस गरेर नै अहिलेको सरकारले निजी क्षेत्रमैत्री बजेट तथ्य कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । यसले देशको अर्थतन्त्र विकासको लागि थप सहयोग गर्ने पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

समाजवाद निर्माणको कुरा गर्ने पार्टीले ढुकुटी रित्तिएको अवस्थामा सोचे जस्तो समाजवाद केन्द्रित बजेट ल्याउन नसकेको उहाँले स्विकार्नुभयो । राष्ट्रिय पुँजीको जगमा समाजवादको जग स्थापित हुने बताउँदै अहिले राष्ट्रिय पुँजी खुम्चिएको बताउनुभयो ।