काठमाडौं, २४ जेठ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको लागि नेकपा एमालेलाई पहिलो शक्ति बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
आज चितवनमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको एघारौँ जिल्ला अधिवेशन अन्तर्गत प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्नुहुँदै पोखरेलले विचारको शक्तिबाट नै समाज र राष्ट्र निर्माण सम्भव हुने बताउनुभयो । ‘जब हामीले सही विचारलाई समाजमा स्थापित गर्न छाड्छौँ, तब अराजकता मौलाउँछ, जबसम्म गलत विचारहरूले पोल्दैन, तबसम्म समाज परिवर्तन सम्भव हुँदैन’, उहाँले भन्नुभयो ।
नागरिकलाई उज्यालो भविष्यको आशा देखाएर मात्र वर्तमान समस्यासँग लड्न प्रेरित गर्न सकिने उहाँले बताउनुभयो । नागरिकलाई उज्याले भविष्यको सपना देखाउने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो ।
महासचिव पोखरेलले नेकपा एमालेभित्र अहिले कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । ‘पार्टी विचार, दृष्टिकोण र गन्तव्यमा एकमत छ’, उहाँले भन्नुभयो ।
वर्तमान अवस्थामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सशक्त र स्पष्ट रहेको उहाँको भनाइ छ । हालै सरकारले ल्याएको बजेट पनि एमाले नेतृत्वमै आएको बताउँदै उहाँले राष्ट्रको ढुकुटी कमजोर भएका कारण अपेक्षाअनुसारको बजेट तथा कार्यक्रम ल्याउन कठिन भएको स्विकार्नुभयो ।
उहाँले विगतमा एमालेको नेतृत्वमा अर्थतन्त्रले सकारात्मक गति लिएको स्मरण गराउँदै वर्तमानमा पनि बिस्तारै अर्थतन्त्रमा सुधार देखिन थालेको उल्लेख गर्नुभयो । ‘एमालेले नेतृत्व लिएको बेला सधैँ अर्थतन्त्रको विकास भएको छ, अहिले पनि अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन लागेको छ‘, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलज्यूले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको यथार्थलाई बिर्सिएर एमाले माथि अनावश्यक आरोप लगाउनु गलत भएको बताउनुभयो । ‘एक मात्र होइन, धेरै सहकारीहरूबाट पैसा ठगिएको छ, टेलिभिजन छाडिसकेको अवस्थामा पनि उहाँले आफ्नी श्रीमती र ससुराको नाममा चेक काटेको देखिएको छ’, पोखरेलले भन्नुभयो ।
हालका दिनमा नेकपा एमालेविरुद्ध चारवटा शक्तिहरू विशेष रूपले आक्रामक रूपमा प्रस्तुत भइरहेका उहाँले बताउनुभयो । ‘राजावादी, माओवादी, अराजकतावादी र राष्ट्र विरोधी विदेशी शक्तिहरूले सङ्गठित रूपमा एमालेमाथि योजनाबद्ध आक्रमण गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
उहाँले जातीय राज्य निर्माण गर्न चाहनेहरू, ‘एक मधेस, एक प्रदेश’को नारा दिनेहरू र सङ्घीयता विरोधी शक्तिहरू पनि एमालेविरुद्ध उत्रिएका बताउनुभयो । यस्ता भ्रमहरूको सशक्त प्रतिवाद गर्नु आजको आवश्यकता भएको पोखरेलले स्पष्ट पार्नुभयो।
महासचिव पोखरेलज्यूले नेपालमा दलहरूले जम्मा १५ वर्ष शासन गर्न पाएको र बाँकी सारा समय राजतन्त्रको शासन रहेको स्मरण गराउनुभयो । उहाँले लोकतन्त्रपछिको विकास नदेख्नेहरूलाई चटकेहरूको संज्ञा दिँदै यस्ता भ्रममा पर्नु नहुने बताउनुभयो ।
एमाले राष्ट्रका समस्या पहिचान गर्ने र समाधानतर्फ कदम चाल्ने दृष्टिमा सधैँ अगाडि रहेको दाबी गर्नुभयो । समृद्ध नेपाल निर्माणको यात्रा सहज नभएको बताउँदै उहाँले तर सो यात्रा सुरु गर्न र नेतृत्व दिन सक्ने शक्ति नेकपा एमाले नै भएको दाबी गर्नुभयो । ‘देशलाई समृद्धिको बाटोमा अघि बढाउनु छ भने एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।
पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउँदै मिसन २०८४ सफल पार्न जनतासँग निरन्तर संवाद र सम्पर्क अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेकपा एमालेलाई निर्णायक शक्ति बनाउने हो भने जनताका बिचमा गएर संवाद गरेर अघि बढ्नै पर्ने उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्