जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार १३:१७

अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकास असन्तुलित भयो : महासचिव पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताउनुभएकाे छ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गर्नुभयाे।

उहाँले राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिले पनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पार्नुभयाे । कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठुलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको उहाँले बताउनुभयाे ।

महासचिव पोखरेलले अहिले समाजमा गणतन्त्रभन्दा पञ्चायत नै ठिक भन्दै पूर्वपञ्चहरु र राजावादीहरूले आर्थिक, सामाजिक र विकासमा राजनीतिक दल र तिनका नेतृत्वले प्रभावकारी काम नगरेको भन्दै जनताका बिचमा भ्रमपूर्ण प्रचारहरू गरिरहेको टिप्पणी गर्नुभयो । ‘अहिले एक प्रकारको सामाजिक रूपमा धारणा छ, नेपालका राजनीतिक दलहरू र तीनको नेतृत्व आर्थिक, सामाजिक र विकासका प्रश्नमा चाहिँ प्रभावकारी भएनन् , अझ  पूर्वपञ्चहरु र राजावादीहरू त भन्न थालेका छन्, लोकतन्त्रले के दियो ? गणतन्त्रले के दियो ? बरु पञ्चायत नै ठिक थियो भन्ने अर्थमा जनताका बिचमा भ्रमपूर्ण प्रचारहरू गरिरहेको अवस्था छ । पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने त मुलुकले उल्लेखनीय प्रगति गरेको छ’, उहाँले भन्नुभयाे ।

पञ्चायतको अन्तिम समयमा नेपालको आर्थिक, सामाजिक सूचकहरू के थिए भन्ने कुरालाई आधार बनाएर विश्लेषण गर्ने हो भने नेपालमा निकै ठुलो परिवर्तन भएको उहाँले बताउनुभयाे । तर विश्व अर्थ व्यवस्थामा भएको परिवर्तनअनुसार नेपालको अर्थतन्त्रको विकास भएको छ कि छैन भन्ने कोणबाट हेर्ने हो भने त्यसअनुसार हुन नसकेकाे उहाँले बताउनुभयाे ।   ‘हाम्रो राज्यका नीतिहरूका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलशाली भएर गएको छ, अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ, राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरू रहँदै आए , अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन’, उहाँले भन्नुभयाे ।

पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको र पञ्चायतको अन्तिम समयको आर्थिक, सामाजिक सूचकहरूलाई आधार बनाएर विश्लेषण गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको उहाँले भन्नुभयाे ।