जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १७:०९

लोकप्रिय मानिसहरूलाई माओवादीले गोली ठोकेर मारे : शेरबहादुर देउवा 


काठमाडौं, २५ जेठ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा लोकतन्त्र र गणतन्त्र त्यतिकै नआएको बताउनुभएको छ । आज भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको सालिक अनावरण गर्दै उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि धेरै जनाले बलिदान र योगदान पुर्‍याएका बताउनुभयो । यसरी योगदान पुर्‍याउने व्यक्तिहरूको योगदानलाई सम्मान गर्नुपर्ने देउवाको धारणा छ ।

उहाँले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठुलो योगदान दिएको चर्चा गर्दै  जोन्छेलगायतका व्यक्तिको जीवनीबारे थप विषय खोजी गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । ‘जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो’, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले अहिले संसद् चल्न दिने कि नदिने भन्ने निर्णय माओवादी केन्द्रको हातमा रहेको बताउनुभयो ।

संसद् अवरुद्ध गर्ने समय अहिले नभएको उल्लेख गर्दै उहाँले भिजिट भिसा प्रकरणमा छानबिन भइरहेकोले संसद् अवरुद्ध गर्न आवश्यक नरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले जोन्छेको योगदानलाई पार्टीले भुल्न नहुने बताउनुभयो ।

भवन निर्माणमा १ एक करोड १० लाख रुपैँया खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो । भवन निर्माणको लागि सूर्यविनायक नगरपालिकाले ४० लाख रुपैँया सहयोग गरेको थियो । त्यस्तै विभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरूले समेत सहयोग गरेको जानकारी कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा जोन्छेको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगरप्रमुख वासुदेव थापासहित विभिन्न व्यक्तिलाई सम्मान तथा विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।