लण्डन, ४ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोकतन्त्र, राजनीति र नेपाली समाजका बारेमा नकारात्मक चित्रण गर्ने प्रवृत्ति देखा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बेलायत स्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यसले राजनीति मात्र होइन समाजको सबै क्षेत्र प्रभावित हुने जोखिम बढेको बताउनुभयो । ‘भ्रमलाई विश्वासका रूपमा ग्रहण गर्ने र सम्प्रेषण गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दै गएको छ, एकले अर्कालाई कमजोर बनाउन भ्रम छर्ने प्रवृत्ति नेपाली समाजमा बढेको छ’, उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालबाट भ्रम छर्ने र लोकप्रिय हुने सोचका साथ नेपाली समाजमा अराजकतावाद बढेको उहाँले बताउनुभयो । नेपाली समाजलाई अराजकतावादबाट जोगाउनको लागि सबैले साथ सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘अहिले लोकतन्त्र र गणतन्त्रका विरुद्ध नियोजित प्रचार भइरहेका छन्, त्यसले नेपाली समाजलाई प्रभावित गरेको छ’, उहाँले भन्नुभयो ।
लोकतन्त्र प्राप्ति पछि हरेकको जीवनमा परिवर्तित भए पनि त्यो सच्चाइलाई अभिव्यक्त गर्न सङ्कोच मान्ने काम भइरहेको पोखरेलले बताउनुभयो । नेपाली समाजलाई अति विकसित मुलुकको आँखाबाट हेरेर नेपाली समाजमा निराशा बाँड्ने काम गरिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्र निर्माणको लागि पर्याप्त समय नपाएका राजनीतिक दल र त्यसको नेतृत्वलाई देश बन्न नसकेको भारी बोकाउने काम भएको उहाँले बताउनुभयो । नेपालमा लामो समय राजतन्त्रले शासन गरेको भए पनि देशको विकासको लागि काम नगरेको उहाँले बताउनुभयो ।
माओवादी हिंसा फैलनुका पछाडि पनि राजा र भारतको भूमिका रहेको उहाँले बताउनुभयो । भारतका नेताहरूले त खुल्ला रूपमा नै आफूहरूले माओवादीलाई संरक्षण गरेको अभिव्यक्ति दिने गरेका पोखरेलले सुनाउनुभयो ।
माओवादी द्वन्द्व बेलामा राजावादीहरू कहिल्यै पनि प्रहारको निसाना नबनेका उहाँले बताउनुभयो । माओवादी आन्दोलनको प्रहारको निशाना कांग्रेस र एमाले भएको उहाँले सुनाउनुभयो ।
पश्चिमा जगतले पनि नेपाली जनतालाई अधिकार माग्न मात्रै सिकाएको उहाँको गुनासो छ । राष्ट्र र नागरिक प्रतिको कर्तव्यको चेतना समाजमा सम्प्रेषण गर्न नसकिएको पोखरेलले बताउनुभयो । ‘त्यसले गर्दा राज्य जनता बिचको सम्बन्ध जोडिन सकेकै छैन, जो सबैभन्दा बढी अराजक छ त्यस प्रति समाजको आकर्षण बढेको छ, यसको कारण हामीले नागरिकलाई नागरिक कर्तव्यको शिक्षा दिन सकेनौँ’, उहाँले भन्नुभयो ।
अहिलेको परिवर्तन कसरी ल्याइयो भन्ने कुरा नागरिकलाई बुझाउन नसक्दा देशमा अराजकता बढेको उहाँले बताउनुभयो । देशलाई बङ्गलादेश र श्रीलङ्का बनाउने कुरा गर्नेले देश बनाउन नसक्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
अहिले समाजका हरेक प्रतिष्ठित मानिसहरू माथि धावा बोल्ने काम भइरहेको उहाँले बताउनुभयो । हरेक खालका आदर्शलाई भत्काउने प्रयास भइरहेको बताउँदै उहाँले सबै खालका आदर्शलाई भत्काएर बलियो राष्ट्र निर्माण असम्भव भएको बताउनुभयो ।
नेपालले लोकतान्त्रिक तरिकाबाट समाजवाद निर्माणको बाटोमा अघि बढ्ने संवैधानिक प्रतिबद्धता नै व्यक्त गरेको बताउँदै उहाँले देश अहिले त्यही दिशामा अघि बढेको बताउनुभयो । देशले क्रमशः आर्थिक प्रगति गर्नु, धनी र गरिब बिचको खाडल कम हुँदै जानु यसको लागि सकारात्मक सन्देश भएको उहाँले स्पष्ट पार्नुभयो ।
पोखरेलले बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँका लागि केही गर्ने सोच बनाउन आग्रह गर्नुभयो । विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमा लगानी गर्न पनि उहाँले सुझाव दिनुभयो । फरक धरातलमा लाग नि गर्दा व्यक्तिगत रूपमा पनि लाभ हुने पोखरेलको धारणा छ ।
उहाँले समाजमा असन्तुष्टि बढ्नु स्वाभाविक भए पनि निराशा भने खतरनाक हुने बताउनुभयो । त्यसैले देशलाई निराशा तर्फ जानबाट भने जोगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । देशको समस्या राजनीतिक अस्थिरतामा भएको बताउँदै उहाँले राजनीतिक स्थिरताको लागि धेरै होइन बोलिया राजनीतिक दल बनाउन तर्फ लाग्नु पर्ने पोखरेलको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्