जनता टाइम्स

४ असार २०८२, बुधबार २०:४५

दुई शीर्ष नेता र तीन मन्त्रीबीच बालुवाटार भयो यस्तो छलफल


काठमाडौं, ४ असार ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीका दुई शीर्ष नेता र पार्टीबाटै सरकारमा रहेका तीन मन्त्री लिएर प्रधानमन्त्रीसँग छलफल गर्न पुग्नुभएको छ । बुधबार साँझ पार्टी देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जामन्त्री दीपक खड्कालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुग्नुभएको हो । छलफलमा एमालेका तर्फबाट ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुनुहुन्थयो । छलफलमा सरकारको कामकारबाही र सदनको कामकारबाहीबारे कुरा भएको कांग्रेस उपसभापति खड्काले जानकारी दिनुभएको छ । त्यस्तै छलफलमा सहभागी गृहमन्त्रीले रमेश लेखक पनि सदनको कामकारबाहीकै विषयमा आजको छलफल केन्द्रित भएको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो सदन र सरकारको कामकारबाही अघि बढाउनेमै छलफल केन्द्रित भयो। विधेयकहरू पनि अघि बढाउने कुरामा छलफल भयो।

त्यस्तै छलफलमा सहभागी अर्का एक नेताका अनुसार निजामती विधेयकको विषयमा पनि कुरा भएको थियो। त्यस्तै, छलफलमा सहभागी मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले इरान र इजरायलको द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धार र सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराउनुभएको छ । गत जेठ २ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा निजामती कर्मचारी वा अरू सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा बस्न नपाउने प्रावधान पारित गरेको थियो। यो प्रतिनिधिसभामा दर्ता भइसकेको छ। मंगलबार उक्त विधेयक छलफल गरेर पारित गर्ने भनी कार्यसूचीमा समेत चढाइएको थियो तर बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। अब प्रतिनिधिसभा बैठक भोलि बिहीबार बस्दैछ।