काठमाडौं, ८ असार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन र देशको विकासमा अवरोध गर्न खोज्नेहरूले नेकपा एमालेमाथि चौतर्फी हमला गरिरहेका बताउनुभएको छ ।
शनिबार धादिङमा आयोजित एमालेको प्रथम प्रतिनिधि परिषद् उद्घाटन समारोहमा बोल्दै उहाँले विकास विरोधी र राष्ट्रघातीहरूले एमालेमाथि हमला गरेर मुलुकलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेका बताउनुभयो। ‘एमालेले गरेका विकासले देश सशक्त बन्छ भन्ने डर भएकाहरू आक्रोशित छन्,’ उहाँले भन्नुभयो।
एमाले लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार, सुशासन र जननिर्वाचित नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । पोखरेलले भन्नुभयो, ‘वंश परम्पराको शासन होइन, जनताबाट निर्वाचित नेतृत्वको शासन हाम्रो नीति हो, त्यसैले एमालेमाथि हमला भइरहेको हो।’
उहाँले नवलपरासीको फलाम खानी, दैलेखको पेट्रोलियम अन्वेषणजस्ता योजनाहरू एमालेको पहलमा अघि बढिरहेका उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘यी योजनाबाट देश बलियो हुन्छ भन्ने थाहा पाएकाहरूले डरले हमला गरेका हुन्।’
पार्टी कार्यकर्ताहरूलाई यस्ता हमलाको कडा प्रतिवाद गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, ‘एमालेमाथि हमला गर्नेहरूलाई प्रतिरोध गर्न सक्ने कार्यकर्ताहरू नै सक्कली एमाले हुन्।’
कार्यकर्ताहरूलाई पार्टी एकता सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सानो पार्टी हुँदा सानो चुनौती हुने तर अहिले देश सञ्चालन गर्ने अवस्थामा रहेको पार्टीको हैसियतमा एमालेले ठुलो चुनौती सामना गर्नु स्वाभाविक भएको बताउनुभयो । तथापि एमाले ती सबै चुनौतीलाई सामना गर्न सक्षम रहेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा एमालेले भूमिगत कालमा पार्टीको पक्षमा काम गर्ने, जनताको माझ संगठन निर्माणमा योगदान दिने नेता तथा कार्यकर्ताहरूलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा धुनीबेसीका कृष्णदास श्रेष्ठ, ध्रुव शर्मा रुपाखेती, थाक्रेका उत्तम अर्याल, खेमबहादुर थापा, कृष्णप्रसाद अर्याल, गल्छीका परशुराम नेपाल, भरत लामा, गजुरीका रामकृष्ण अधिकारी, शिवराज डल्लाकोटी, बेनिघाटरोराङका रामबहादुर रावल, हरि घिमिरे, भुवनलाल श्रेष्ठ, सिद्धलेकका प्रेमराज पुरी, ललितादेवी अर्याल, नीलकण्ठका ठमबहादुर थापामगर, चन्द्रबहादुर दर्लामी, ज्वालामूखीकी इन्द्रकुमारी श्रेष्ठ, तोरणबहादुर भण्डारी, नेत्रावतीकी प्रभा श्रेष्ठ, वीरबहादुर गुरुङ, त्रिपुरासुन्दरीका गोपाल श्रेष्ठ, रमेश सिंखडा, गंगाजमुना गाउँपालिकाका सुकदेव रेग्मी, अम्मर अधिकारी, विष्णु सिंखडा, खनियाबासका ठुटे तामाङ र रुबीभ्यालीका अम्मर लामा रहेका छन्।
नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न प्रतिनिधि परिषद्ले उहाँद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनसमेत पारित गरिएको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
१० हजार ४ सय ९२ जना पार्टी सदस्य रहेको एमाले धादिङको प्रतिनिधि परिषद्मा ५ सय ८६ जना प्रतिनिधिहरू थिए ।
प्रतिक्रिया दिनुहोस्