ललितपुर, ९ असार । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमन सुस्त हुने बताउनुभएको छ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई साेमबार ललितपुरमा सम्बोधन गर्दै उहाँले युवाले व्यक्तिपरक होइन, विचार केन्द्रित राजनीति अङ्गाल्नुपर्नेमा जोड दिनुभयो। ‘युवाहरू सही बाटोमा लागेमा देश अगाडि बढ्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर यदि उनीहरू भ्रममा परे वा शिथिल भए भने परिवर्तन र अग्रगमनले गति लिन सक्दैन।’
ओलीले वर्तमान नेतृत्वले आगामी स्थानीय तह निर्वाचनसम्म संगठनको जिम्मेवारी बहन गर्ने भएकाले यसको कार्यकालभित्रै एक व्यवस्थित कार्य योजना बनाएर संगठनलाई वैचारिक तथा संगठनात्मक हिसाबले सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । ‘सङ्घको नेतृत्वले सिङ्गो योजना बनाओस्, नयाँ इतिहास कायम राखोस्, असाधारण सक्रियताका साथ काम गरोस्,’ ओलीले भन्नुभयो, ‘सामाजिक न्याय, राष्ट्रिय स्वाभिमान, सुशासन र वैज्ञानिक सोचप्रति प्रतिबद्ध संगठनका रूपमा युवा संघलाई अगाडि बढाऔँ।’
प्रधानमन्त्री ओलीले यति बेला देशमा सही नेतृत्व र विचारको खाँचो रहेको उल्लेख गर्दै युवाहरूले व्यक्तिपरक राजनीतिमा होइन, वैचारिक स्पष्टता परिवर्तनशील नेतृत्वमा भरोसा राख्नुपर्ने धारणा राख्नुभयो।
‘उही नेता कहिले आवश्यकताले दोहोरिन सक्छ, कहिले एकटकमै असफल हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन दिशाहीन भयो। जब जनताको बहुदलीय जनवाद पारित भयो, तर नेतृत्व सही पाइएन, पछि सही नेतृत्व पाएपछि मात्रै पार्टी स्पष्ट र मजबुत भएर अगाडि बढ्यो।’
प्रतिक्रिया दिनुहोस्