जनता टाइम्स

९ असार २०८२, सोमबार २१:१७

राष्ट्रिय युवा संघ नेपालले अन्याय गर्दैन, कसैले गालामा हान्न आए ओम शान्ति भनेर पनि बस्दैन : केपी ओली 


ललितपुर, ९ असार ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व परिवर्तनको अगुवाइ युवाले गरेका बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उहाँले नेपाली युवालाई पनि प्रवर्तनशील र उद्यमशील बन्न आह्वान गर्नुभयो । दक्षता, सीप र अनुभव बिना केवल उमेरका कारण मात्र युवालाई जिम्मेवारी दिन नसकिने ओलीले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘घमण्डले बिगार्ने बाटो खोल्छ, हाम्रो युवासंघ विनम्र, शालीन र क्षमतावान् हुनेछ, राष्ट्रिय युवा संघ गुण्डागर्दी होइन, बलियो नेतृत्व उत्पादन गर्ने संस्था बनोस् ।’

प्रधानमन्त्री ओलीले युवाहरूले अन्याय सहनु नहुने र गर्न पनि नहुने उल्लेख गर्दै प्रतिरोधको भावना र न्यायको पक्षमा उभिन सक्ने क्षमताका साथ युवा संघ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘कसैले गालामा पिट्न आयो भने ओम शान्ति भन्दै बस्न हुँदैन, अन्याय पनि गर्नु हुँदैन, युवा संघले अन्याय सहँदैन, अन्याय गर्दैन भन्ने सन्देश दिन सक्नुपर्छ’ ओलीले भन्नुभयो ।

उहाँले केवल युवा भनेर उचाल्ने प्रवृत्तिप्रतिको आलोचना गर्दै जुनसुकै क्षेत्रमा होस्, युवाले के गर्छन्, कुन तहसम्म गर्छन् भन्ने कुराले मात्रै महत्त्व राख्ने स्पष्ट पार्नुभयो । त्यसमा नेतृत्व दक्षता, अनुभव र सीप अनिवार्य रहेको उहाँको धारणा छ ।

अध्यक्ष ओलीले विगतमा पार्टी एकता गरेर नेकपा गठन भएको तर प्रतिक्रियावादी षड्यन्त्रका कारण पार्टी फुटेको बताउनुभयो । विचार र संगठनात्मक सामर्थ्यका कारण फेरि एमाले पुरानै अवस्थामा फर्किन सकेको ओलीले दाबी गर्नुभयो ।  ‘हामीलाई समाप्त पार्न चाहनेहरू असफल भए, हाम्रो सामर्थ्य विचारमा, नेतृत्वमा र संगठनमा छ, त्यसैले हामी पुनः उभिन सफल भएका छौँ’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय युवा संघ नेपाल जनताको स्वाभिमानको किल्ला भएको उल्लेख गर्दै यसलाई कसैले कमजोर पार्न नसक्ने बताउनुभयो । ‘समाज परिवर्तन, राष्ट्रिय पुनर्निर्माण र देशभक्तिपूर्ण भावनाको यो संगठन नायक हो,’ उहाँले भन्नुभयो, ‘यसको मजबुती नै देशको स्वाभिमानको संरक्षण हो।’