जनता टाइम्स

१९ असार २०८२, बिहीबार १५:५३

प्रधानमन्त्री केपी ओलीद्वारा रियल मड्रिडको रंगशाला सान्टियागो बर्नाबाउको भ्रमण


मेड्रिड (स्पेन), १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविख्यात फुटबल क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गर्नुभएको छ।

भ्रमणको क्रममा क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै रंगशालाको विशेष जानकारी गराउनुभएकाे थियाे । भ्रमणका क्रममा प्रधानमन्त्रीलाई रंगशालाको इतिहास, संरचना र हालै गरिएको अत्याधुनिक पुनर्निर्माणबारे जानकारी दिइएको थियो।

उक्त रंगशाला फुटबलको मात्र होइन, आधुनिक प्रविधिमा आधारित खेल पूर्वाधारको प्रतीकको रूपमा चिनिन्छ।

प्रधानमन्त्री ओली युरोप भ्रमणको सिलसिलामा हाल स्पेनमा हुनुहुन्छ। भ्रमण टोलीमा रहेका अधिकारीहरूका अनुसार यो भ्रमणले नेपाल–स्पेनबीचको सांस्कृतिक तथा मैत्री सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।