काठमाडौं, २४ असार। त्रिशूली नदीमा तिब्बतबाट आएको बाढीले जनधनमा ठुलो क्षति पुर्याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत देशवासीलाई सहयोग र एकतामा जुट्न अपिल गर्नुभएको छ ।
उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत लेख्दै बाढीका कारण केही नागरिकको ज्यान गएको, केही बेपत्ता भएको र ठुलो भौतिक क्षति भएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्नुभएको छ । सरकारी निकायहरूले उद्धारको काम गरिरहेकाले त्यसमा सबैको सहयोगको प्रधानमन्त्रीले अपेक्षा गर्नु भएको छ । ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ, बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरू आएका छन्, ठुलो भौतिक क्षति पुर्याएको छ, ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र विपद्को पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गर्दछु’, ओलीले लेख्नु भएको छ ।
उहाँले यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको जानकारी दिनुभएको छ । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु, विपद् सम्भावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ, सरकारी निकायहरूले उद्धारको काम गरिरहेका छन्, त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु’, उहाँले अपिल गर्नु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्