जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १५:५६

रौतहट प्रकरण : न्यायाधीशकै अगाडी आलमसँग श्रीनारायणले छोरा मागेपछि…


रौतहट, कात्तिक २९

२७ चैत २०६४ मा भएको विस्फोटका विषयमा रौतहट जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । अदालतले आजै आदेश सुनाउने तयारी गरेपछि रौतहटको सुरक्षा व्यवस्था अहिले कडा बनाइएको छ ।

विस्फोटमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतले न्यायाधीशसमक्ष न्यायको याचना गर्दै छोरा मागेका छन् । २२ जनालाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा थुनछेक बहस सकिएपछि न्यायाधीशले जाहेरीकर्ता र प्रतिवादी दुवैलाई आफ्ना कुरा राख्ने अनुमति दिनु भएको थियो । दुवै पक्षको वकिलको बहस सुनेपछि अन्तिम पटक न्यायाधीश दीपक ढकालले वादी र प्रतिवादी दुवैलाई भनाई राख्न समय दिनु भएको थियो ।

श्रीनारायण सिंह राजपूतले इजलासमा आलमलाई सोध्नुभयो, ‘यदि तिमीहरूले दावी गरे जस्तै विस्फोट नै भएको होइन भने मेरो छोरो त्रिलोक कहाँ छ, मलाई देखाइदेऊ ।’ उहाले आलम पक्षले आफुलाई निरन्तर धम्काईरहेको बताउदै भन्नुभयो, ‘म लगायत उक्त घटनाका सबै साक्षीलाई आलमका मान्छेले प्रलोभन र डर–त्रास देखाइरहेका छन् श्रीमान् ।’ निक्कै दुखित र निराश मुद्रामा देखिएका राजपूतले अगाडी भन्नुभयो, ‘घटना नघटेको भए यिनीहरूले किन डर देखाएका छन् ? किन मलाई करोड रूपैयाँ दिनेसम्मको प्रलोभन दिइरहेका छन् ?’

राजपूतले बोलेपछि प्रतिवादी मोहम्मद अफताव आलमलाई बोल्न समय दिइएको थियो । आलमले राजपूतले उठाएको विषयमा केही बोलेनन् । आफ्नो पुरानो दावी दोहोर्‍याउदै आलमले आफूले हिंसा र आतंकको राजनीति कहिल्यै नगरेको र शान्ति नै आफ्नो राजनीतिको मूल आधार भएको बताइदिए । ‘आफूले २०५३ र २०५६ मा चुनाव जितेको क्षेत्र भएकाले उक्त क्षेत्रमा २०६४ मा चुनाव जित्नका लागि बम विस्फोट गराउन आवश्यक छैन’, आलमको भनाई थियो ।