जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार ०९:५८

धुलिखेलमा तेलको ट्यांकर दुर्घटना, चालक-सहचालक दुवैको मृत्यु


बनेपा, कात्तिक ३० । धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका तेलको ट्यांकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उत्त दुर्घटनमा परी घाइते भएका भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौंडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा शुक्रबार राति बाटोमा नै मृत्यु भएको हो । चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा २ ख ६२५६ नम्बरको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल घाइते भएका छन् । घाइते कटुवालको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएको प्रहरीले जनाएको छ ।