काठमाडौं, मंसिर २७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक सरेको छ । शुक्रबारका लागि यसअघि नै तय भएको बैठक अन्तिम समयमा सरेको हो ।
नेताहरुको कार्य व्यस्तताका कारण बैठक सरेको हो । नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको उहाँले जानकारी दिनुभयो । यद्यपी आइतवार विहान ११ बजे स्थायी कमिटि बैठक बोलाएकाले त्यसअघि सचिवालय बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।
स्थायी कमिटिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेखिरहेकाले सचिवालय पछाडी सारेको बताइएको छ । अध्यक्ष प्रचण्डले ६ महिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन बनाईरहेको स्रोतले जानकारी दिएको छ । जस अनुसार तल्लो तहसम्मलाई परिचालन गर्ने योजना छ ।
गएको मङ्सिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्