जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार २१:०४

घुससहित रंगेहात कार्यकक्षबाटै समातिए वैदेशिक रोजगार विभाग ताहाचलका नासु, कार्यालय प्रमुखकै सहयोगी सुराकी


काठमाडौं, चैत २७ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुससहित पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगारीसम्बन्धी मुद्दा मिलाइदिने बहानामा घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो।

आयोगको टोलीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। त्यसपछि कार्यालय परिसरभित्रै गरिएको खानतलासीमा थप नगदसमेत बरामद भएको छ।

कार्यालय परिसरभित्रको शौचालयबाट १५ हजार रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ फेला परेको थियो। नगद र मोबाइल फोनसहित मस्राङ्गीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

कार्यालय प्रमुखकै सहयोगीको सूचनाका आधारमा नासू मस्राङ्गीमाथि अख्तियारले अनुसन्धान अघि बढाएको स्रोतले जनताटाइम्स डटकमलाई बताएको छ । हरेक सेवाग्राहीसँग असुल्ने बानी बिकाश गरेपछि कार्यालयका कर्मचारीहरूले नै अख्तियारमा सूचित गरेको स्रोतको भनाइ छ ।