काठमाडौं, वैशाख १६ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रूपान्तरण गर्न नसकेको टिप्पणी गर्नुभएको छ। उहाँले माओवादीको नाममा देशले लामो समय उग्र वामपन्थको प्रभाव र त्यसबाट उत्पन्न समस्याहरू भोग्नुपरेको उल्लेख गर्नुभयो।
काठमाडौंमा आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो धारणा राख्नुभएको हो। उहाँले २०५६ सालको आम निर्वाचनका क्रममा एमालेका तर्फबाट रुकुममा उम्मेदवार रहनुभएका नेता यदु गौतमको तत्कालीन माओवादीद्वारा हत्या गरिएको प्रसंग पनि स्मरण गर्नुभयो।
उहाँका अनुसार माओवादी आन्दोलनले हिंसात्मक बाटो अवलम्बन गर्दै ‘जनयुद्ध’का नाममा सत्ता कब्जाको प्रयास गरे पनि त्यसमा सफल हुन सकेन। ‘माओवादीले जबसम्म हिंसाको बाटो अपनायो, त्यसले देशलाई स्थायित्व दिन सकेन,’ उहाँले भन्नुभयो, ‘पछिल्लो चरणमा एमाले र कांग्रेससँग सहकार्य गर्दै जनआन्दोलनमा सहभागी हुनुपरेको वास्तविकता हो।’
उपाध्यक्ष पौडेलले २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले असाधारण जनसमर्थन प्राप्त गरे पनि त्यस अवसरलाई सही रूपमा उपयोग गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले सरकारमा रहँदा पनि राज्य संयन्त्रमा नियन्त्रण जमाउने प्रयास, सेना नेतृत्वमा हस्तक्षेपजस्ता कदमहरूले थप विवाद निम्त्याएको टिप्पणी गर्नुभयो। ‘सरकारमा पुगेपछि पनि राज्य कब्जा गर्ने मानसिकता देखियो, सेनापति बर्खास्ती गर्ने र नयाँ सेनापति ल्याउने चाहना बढ्दै गयो,’ उहाँले भन्नुभयो, ‘यस्ता आकांक्षाले देशलाई दीर्घकालीन रूपमा समस्यामा पारे।’
उहाँले माओवादीको राजनीतिक उपादेयता कमजोर बन्दै गएपछि अहिले पार्टी नामबाट ‘माओवादी’ शब्द हटाउने अवस्था आएको दाबी गर्नुभयो।
पौडेलले फागुन २१ को चुनावबाट कम्युनिसष्ट आन्दोलनले सबैभन्दा ठूलो धक्का खाएको बताउनु भयाे। उहाँले यसकाे गम्भीर समीक्षा गर्ने बताउनुभयाे ।
उहाँले झन्डै दुई तिहाइ बहुमत प्राप्त गर्दा पनि कम्युनिष्ट शासन टिकाउन नसक्नुको कारणबारे पनि समीक्षा हुनु पर्ने बताउनुभयाे। अब विचार, नीति र नेतृत्वमा पुनर्गठन गर्नु पर्ने पौडेलले दोहोर्याउनुभयाे ।
पाैडेलले नेतृत्व, कार्यशैली, आचरण र अभ्यासमा भएका त्रुटि सच्चाउने बताउनुभयाे । ‘हामी देशबासीसँग हाम्रो तर्फबाट भएका भूलहरूका बारेमा क्षमायाचना गर्छौँ र भन्छौँ हामीले भूललाई स्वीकारेका छौँ’, उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्