जनता टाइम्स

३ असार २०८३, बुधबार २१:३१

कम्पनीहरुले असोज मसान्तभित्र विवरण बुझाए पुरानाे जरिवाना मिनाहा हुने  


काठमाडौं, असार ३ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण असोज मसान्तभित्र पेस गरेमा यसअघि लागेका कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयले मंगलबार सूचना जारी गर्दै नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ मा गरिएको व्यवस्थाअनुसार यस्तो सुविधा उपलब्ध गराइएको जनाएको हो।

सूचनाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले कानुनले तोकेको समयभित्र विवरण पेस नगरेको, अद्यावधिक नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना नबुझाएको भए पनि कारोबार निरन्तर राख्न वा कम्पनी दर्ता खारेज गर्न चाहेको अवस्थामा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

यसका लागि सम्बन्धित कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण संवत् २०८३ असोज मसान्तभित्र पेस गर्नुपर्नेछ। त्यसरी विवरण पेस गरी कानुनबमोजिम बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुर दाखिला गरेमा सो अवधिभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

कार्यालयले यो व्यवस्थाबाट लाभ लिन इच्छुक कम्पनीहरूलाई समयमै वार्षिक विवरण पेस गर्न तथा आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठद्वारा जारी सूचनामा सम्बन्धित सबै सरोकारवालालाई सरकारले उपलब्ध गराएको उक्त सुविधाको लाभ लिन अनुरोध गरिएको छ।

यस व्यवस्थाले लामो समयदेखि विवरण अद्यावधिक नगरेका तथा जरिवानाको भारका कारण नियमित प्रक्रियामा आउन नसकेका कम्पनीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।