जनता टाइम्स

८ श्रावण २०८३, शुक्रबार १५:१६

न्यायाधीश पतिविरुद्ध वैवाहिक बलात्कार मुद्दा हालेकी आरती रावल जेल चलान


काठमाडौं, साउन ८ । न्यायाधीश रहेका पतिविरुद्ध वैवाहिक बलात्कार मुद्दा हालेकी आरती रावल जेल चलान भएकी छन् । विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी हुन ।

काठमाडौं जिल्ला अदालतको आदेशमा रावललाई महिला बन्दी गृह, जगन्नाथ देवल चलान गरिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको बेञ्चले बुधबार रावललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी रावल ‘न्यायका लागि’ भन्दै प्रदर्शनमा उत्रिनुभएको थियो । न्यायाधीश गिरी सोही मुद्दामा केही समय जेल चलान भएर पछि मुद्दामा सफाइ पाएर रिहा भएपछि नियमित काममा सरिक हुन थाल्नुभएको छ ।

तर अदालतले गरेको आदेश अस्वीकार गर्दै फेरि आरती न्यायाधीश विरुद्धका गतिविधिमा सक्रिय बनेपछि सजाय पाउनुभएको हो । त्यस क्रममा विभिन्न विद्युतीय माध्यमबाट गिरीको मानहानि गर्ने कार्य गरेको भनी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । रावलविरुद्ध सर्वोच्च अदालतको पत्रको जाहेरीले नेपाल सरकार पक्ष भई मुद्दा चलेको थियो । सोही मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।