जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार ११:४६

देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिन माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग


काठमाडौं, साउन १२  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन भएकाे छ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) क्षेत्रमा स्थानीयवासीले निष्पक्ष अनुसन्धानको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा घटनामा संलग्नमाथि कानुनी कारबाही, प्रहरी दमनको अन्त्य तथा पीडितलाई न्याय दिलाउनुपर्ने मागसमेत उठाइएको थियो।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारस्थित गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध भएको थियो। आन्दोलनरत पक्षसँग भएको छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरी गोलीकाण्डको विरोधमा सुनसरीसहित अन्य विभिन्न जिल्लामा समेत प्रदर्शन जारी रहेको जनाइएको छ।