काठमाडौं, साउन १३। सुनसरी हत्या प्रकरणपछि पूर्वी नेपालमा फैलिएको हिंसा, आगजनी, तोडफोड र साम्प्रदायिक तनाव नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर राजनीतिक पहल सुरु गर्नुभएको छ।
घटना भएको तीन दिन बित्दासम्म प्रधानमन्त्री बालेन्द्र साहले औपचारिक सार्वजनिक धारणा नदिएको र गृहमन्त्री सुधन गुरुङ सार्वजनिक रूपमा मौन रहनुभएको अवस्थामा रास्वपाले घटनाको स्वतन्त्र छानबिन, दोषीमाथि कारबाही र सबै राजनीतिक शक्तिबीच संवाद आवश्यक रहेको निष्कर्षसहित सक्रियता देखाएको हो।
सुनसरी घटनापछि उत्पन्न तनाव, आगजनी, तोडफोड तथा सामाजिक सद्भावमा देखिएको चुनौतीका विषयमा प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले अपेक्षित सक्रियता नदेखाए पछि रास्वपा सभापति लामिछानेले संवादमार्फत निकास खोज्ने प्रयासस्वरूप बैठक बोलाउनु भएको छ । लामिछानेले आज बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक बोलाउनु भएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ। सभापति लामिछानेले नेताहरूलाई व्यक्तिगत रूपमा फोन गरेर समेत बैठकमा सहभागी हुन आग्रह गर्नुभएको स्रोतले जनाएको छ।
सरकार मौन हुँदा रास्वपाको चेतावनी
सो घटनमा सरकार मौन रहेपछि मंगलबार साँझ रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालाई “अत्यन्त संवेदनशील र दुःखद” भन्दै पार्टी “स्तब्ध र मर्माहत” भएको बताउनु भएको थियो । विज्ञप्तिमा पार्टीले स्पष्ट रूपमा भनेको छ, “कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन।”
रास्वपाले नेपाली समाजको सबैभन्दा ठूलो शक्ति बहुलवाद, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी विश्वास भएको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ। पार्टीले सरकारसँग स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, पीडित परिवारलाई न्याय, राहत र क्षतिपूर्ति तथा घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराउन माग गरेको छ।
विज्ञप्तिमा अर्को महत्त्वपूर्ण सन्देश दिँदै लामिछानेले भन्नु भएको छ, “यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गर्दछौँ।”
साथै आफ्ना सबै स्थानीय समिति र कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न पनि उहाँले निर्देशन दिनु भएको छ ।
रविको आलोचना पछि राति मात्रै आयो प्रधानमन्त्रीको प्रतिक्रिया
रास्वपाको विज्ञप्तिपछि प्रधानमन्त्री बालेन्द्र साहले मध्यरातमा सामाजिक सञ्जालमार्फत पहिलो सार्वजनिक प्रतिक्रिया दिनुभयो। उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ्य लाभको कामना तथा दोषीमाथि कानुनी कारबाही हुने प्रतिबद्धता जनाउनुभयो।
प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको विषयलाई पनि गम्भीर रूपमा लिइएको उल्लेख गर्दै अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने बताउनुभएको छ। साथै सरकारले पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गत भदौ २३ र २४ गते भएको घटनाको जिम्मेवार तत्कालीन प्रधानमन्त्री र गृह मन्त्रीको काँधमा थोपर्ने प्रधानमन्त्री साहले सुनसरी घटनमा भने प्रहरीलाई जिम्मेवार ठहर्याउँदै आफू भने पानी माथिको ओभानो बन्ने प्रयास गर्नु भएको छ । यसको सर्वत्र आलोचना सुरु भएको छ । आन्दाेलनकारी र सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री साह र गृह मन्त्री गुरुङको राजीनामा माग आइरहेको छ ।
गृहमन्त्रीको मौनतामाथि प्रश्न
घटना भएको तीन दिन बितिसक्दा पनि गृहमन्त्री सुधन गुरुङले सार्वजनिक रूपमा कुनै धारणा नदिनुभएको विषयले सरकारको सङ्कट व्यवस्थापन क्षमतामाथि थप प्रश्न उठाएको छ। गृह मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीबाट घटनास्थलको भ्रमण, पत्रकार सम्मेलन वा विस्तृत सार्वजनिक जानकारी अपेक्षा गरिएको भए पनि त्यस्तो पहल हालसम्म सार्वजनिक रूपमा देखिएको छैन।
छापामार शैलीमा कहिले यता कहिले उता दौडने गृह मन्त्री सुधन गुरुङ सुनसरी घटना भएको ३ दिन बितिसक्दा पनि मौन नै हुनुहुन्छ । अनुगमनको नाममा कहिले सिमानाकामा छापामार शैलीमा पुग्ने तथा कहिले होटेलमा छापा मार्न पुग्ने गृह मन्त्री सुनसरीमा त्यत्रो नरसंहार विध्वंशकाे घटना हुँदा पनि त्यहाँ पुग्नु त के चुइँक्क बोल्नु समेत भएको छैन । यसबाट उहाँको नियतमा खोट रहेको प्रष्ट हुन्छ ।
हिंसा नियन्त्रणमा सरकारको चुनौती
सुनसरीसहित पूर्वी तराईका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र तनावका घटना जारी रहेपछि प्रशासनले कर्फ्यु लगाएको, सुरक्षा परिचालन बढाएको तथा अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ। यद्यपि तनाव साम्य हुनुको सट्टा चर्कँदै गएको छ ।
यस्तो अवस्थामा रास्वपाले अघि सारेको सर्वदलीय संवादको पहललाई राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर साझा समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ। अब बैठकबाट निस्कने निष्कर्षले सुनसरी घटनापछिको राजनीतिक वातावरण, सामाजिक सद्भाव र सरकारमाथिको जनविश्वासमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।
के भएको थियो घटना ?
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा साउन ११ गते राति बोलबम यात्राका क्रममा बजाइएको डिजे (डीजे) संगीतलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। स्थानीय विवाद चर्किँदै गएपछि ढुंगामुढा, आगजनी र तोडफोडसम्म पुगेको थियो। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाइएको थियो। प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज–३ का ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य नौ जना गोली लागेर घाइते भएका थिए। अधिकांश घाइतेको छातीमा गोली लागेको भन्दै सुरक्षाकर्मीको बल प्रयोगमाथि प्रश्न उठेको छ।
ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति झन् तनावपूर्ण बनेको थियो। आक्रोशित समूहले घर, पसल, सवारीसाधन तथा अन्य भौतिक संरचनामा आगजनी र तोडफोड गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज, हरिनगर, भुटाहा, घुस्की र कप्तानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको थियो।
घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख तथा जिल्लाका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाएर नयाँ नेतृत्व खटाएको थियो। साथै घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। तर त्यसबाट आन्दोलन रोकिएको छैन । कर्फ्युको बिचमा पनि आन्दाेलन जारी छ । सेना परिचालन गर्दा पनि स्थिति नियन्त्रणमा आउने सकेको छैन । देवागञ्जबाट सुरु भएको आन्दोलन पूर्वी तराई र काठमाडौंकाे माइतीघरसम्म फैलिएको छ । यसले थप हिंसा बढाउने जोखिम बढेको छ ।













प्रतिक्रिया दिनुहोस्