सामाजिक सद्भाव, शान्ति–सुरक्षा र समसामयिक राजनीतिक विषयमा छलफल , विभिन्न दलका शीर्ष नेताहरूको सहभागिता
काठमाडौं, साउन १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न आह्वान गर्नुभएको सर्वदलीय बैठकमा जारी छ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुुस्बु ओली, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतका नेताहरू सहभागी हुनुहुन्छ।
रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बैठकमा सहभागी हुनुभएको छ। यद्यपि, रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह तथा गृह मन्त्री सुधन गुरुङ बैठकमा उपस्थित हुनुभएको छैन।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा राजनीतिक दलहरूबिच साझा धारणा निर्माण गर्न सर्वदलीय छलफल आयोजना गरिएको हो।
सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको तथा १० जनाभन्दा बढी घाइते भएका थिए। त्यसयता पूर्वी तराईका विभिन्न क्षेत्रमा तनाव, विरोध प्रदर्शन तथा सुरक्षा चुनौती देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै राजनीतिक संवादमार्फत निकास खोज्ने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ।
यसैबिच बैठकमा प्रधानमन्त्री साहको अनुपस्थितिलाई लिएर विभिन्न राजनीतिक वृत्तमा टिप्पणी भइरहेका छन्। सरकारको असावधानी र गैरजिम्वारीपनले सुनसरीमा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको र १० जना भन्दाबढी गोली लागि घाइते भएको घटना पछि भड्किएको हिंसा नियन्त्रणका विषयमा छलफल गर्न सत्तारुढ दलले बोलाएको बैठकमा सो दलका वरिष्ठ नेता तथा प्रधानमन्त्री अनुपस्थितिलाई गैरजिम्मेवारीपनकाे रूपमा लिइएको छ । यसले प्रधानमन्त्री साह कसैलाई टेर्दैनन् र कसैलाई गन्दैनन् भन्ने कुरालाई पुनर्पुष्टि गरेको छ ।













प्रतिक्रिया दिनुहोस्