संकटमा सरकार होइन, स्टाटसमार्फत मात्र उपस्थिति देखिन्छ; दुःखको विषय आफ्नै सभापति सत्तामा निरीह बन्नु हो’
काठमाडौं, साउन १३। नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सुनसरी घटनापछि आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङ सहभागी नहुनुलाई उहाँहरूको राजनीतिक शैली र कार्यशैलीसँग मेल खाने विषय भएको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर कटाक्ष गर्नुभएको हो। उहाँले “प्रधानमन्त्री र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उहाँहरूको राजनीतिक मान्यता, स्वभाव र उदयका आधारका दृष्टिले दुःखद विषय नै होइन,” भन्दै टिप्पणी गर्नुभएको छ।
बाँस्कोटाले संकटका बेला सरकारको नेतृत्व प्रभावकारी रूपमा नदेखिएको बताउँदै “ती त श्मशान जाग्ने बेला बिउँझन्छन् अनि स्टाटसमा साक्षात्कार हुन्छन्,” भन्ने अभिव्यक्ति प्रयोग गर्नुभएको छ।
उहाँले गृहमन्त्रीको कार्यशैलीप्रति पनि व्यंग्य गर्दै “अर्को होटल र नाकामा छापा मार्दा धम्काउँदै गर्जेको देखिन्छ,” भनी टिप्पणी गर्नुभएको छ।
रास्वपा सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहेको विषयलाई जोड्दै बाँस्कोटाले “दुःखको कुरा सभापति आफ्नै सत्ता निरीह बन्नु हो,” भन्ने टिप्पणीसमेत गर्नुभएको छ।
सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि भड्किएको हिंसा, आगजनी र साम्प्रदायिक तनावका विषयमा छलफल गर्न रास्वपाले सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए पनि प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङ उपस्थित हुनुभएको थिएन। उहाँहरूको अनुपस्थितिलाई लिएर सत्तापक्ष र प्रतिपक्षका विभिन्न नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाइरहेका छन्।













प्रतिक्रिया दिनुहोस्