जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १४:३६

कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको निस्सासिएर मृत्यु


काठमाडौं, साउन १३ । बाँकेको कोहलपुरमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको ज्यान गएको छ। ट्याङ्कीभित्र निस्सासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक आशङ्का गरिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी ४१ वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३४ वर्षीय बिर्जा थारू रहेका छन्। घटनाबारे जानकारी दिँदै बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीनै जना फसेको अवस्थामा मृत भेटिएका थिए।

घटनापछि जेसिबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर आज बिहान तीनै जनाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।