काठमाडौं, साउन १३ । नेकपाका सांसद वर्षमान पुनले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र ‘रेफ्री’को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा उहाँले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको टिप्पणी गर्दै पारदर्शी र पूर्वानुमानयोग्य ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)का कारण निर्वाचन प्रणालीमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै विदेशमा रहेका तथा निर्वाचन क्षेत्रबाहिर रहेका नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो।
सांसद पुनले निर्वाचन खर्च घटाउन आयोगले साझा डिजिटल प्लेटफर्म विकास गर्नुपर्ने, मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्र र नागरिकताको विवरणसँग एकीकृत गर्नुपर्ने तथा राजनीतिक दलका आन्तरिक विवादमा आयोग पक्षधर बन्न नहुने बताउनुभयो। उहाँले निर्वाचन आयोगले दललाई नियन्त्रण गर्नेभन्दा पनि निर्वाचन प्रणालीलाई थप विश्वसनीय, निष्पक्ष र प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।












प्रतिक्रिया दिनुहोस्