जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १६:३४

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीद्वारा शपथ ग्रहण, मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार रोकियो


सुर्खेत, साउन १३ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

मुख्यमन्त्री शाहीलाई नेकपा एमालेको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नियुक्तिपछि उहाँले औपचारिक रूपमा शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नुभएको हो।

यद्यपि, मुख्यमन्त्रीले शपथ ग्रहण गरिसक्नुभए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा सहमति हुन नसक्दा अन्य मन्त्रीहरूको नियुक्ति भने रोकिएको छ।

स्रोतका अनुसार मन्त्रालयको सङ्ख्या र जिम्मेवारी बाँडफाँडको विषयमा दुवै दल आ-आफ्नो अडानमा कायम रहेकाले मन्त्रिपरिषद् विस्तार तत्कालका लागि स्थगित भएको हो। सत्ता गठबन्धनभित्र सहमतिको प्रयास जारी रहे पनि बुधबारसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ।