जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १६:५२

देवानगञ्ज घटनामा मृतकका परिवारलाई  २ लाख रुपैँया राहत, प्रभावित र घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा


विराटनगर, साउन १३ । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई रु. २ लाख तथा आगजानीबाट घर, पसल र अन्य संरचनामा क्षति बेहोरेका परिवार एवं घाइतेलाई जनही रु. ५० हजार राहत उपलब्ध गराउने घोषणा गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत घोषणा गर्नुका साथै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो। घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश सरकारले बैठक आयोजना गरेको जनाएको छ।

बैठकले घटनामा ज्यान गुमाउनुभएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता सुदृढ बनाउन राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वयात्मक पहल गरिनेछ। पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने तथा स्थानीय प्रशासनसँग समन्वय गरेर सद्भाव यात्रा, सार्वजनिक अपिललगायतका कार्यक्रम अघि बढाइने निर्णय पनि गरिएको छ।

यस्तै, सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने, सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सबै सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो।

सर्वदलीय तथा सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।