जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार २०:४९

किर्ते ऋणी खडा गरी लघुवित्तको ७२ लाख बढी हिनामिना गर्ने ५ जना रामेछाप प्रहरीकाे नियन्त्रणमा  


रामेछाप, साउन १३। रामेछाप प्रहरीले किर्ते कागजात तयार गरी लघुवित्तीय संस्थाको ७२ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुखसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवालका अनुसार खाँडादेवी गाउँपालिका–७, गाल्पास्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख रमेशजंग शाह, तत्कालीन कनिष्ठ सहायक सरोज राई तथा बचतकर्ता सदस्य सुनिता घिसिङसहित चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार उनीहरूले २०७५ सालमा आपसी मिलेमतोमा आफूहरूलाई प्राप्त अधिकारभन्दा बाहिर गई संस्थाको कर्जा कार्यविधि विपरीत ४१ जना ऋणी, लमिन लामासमेतका नाममा किर्ते कागजात तयार गरी नक्कली ऋण कारोबार देखाएका थिए। त्यसरी गैरकानुनी रूपमा ७२ लाख ३७ हजार ३३५ रुपैयाँ कर्जा प्रवाह गरी संस्थालाई आर्थिक हानि–नोक्सानी पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उक्त घटनासम्बन्धी बेलमाया मगरले २०८० असोज ८ गते बैङ्किङ कसुरसम्बन्धी मुद्दा दर्ता गराउनुभएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको संलग्नता पुष्टि हुने आधार भेटिएको डीएसपी जैसवालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

उहाँका अनुसार आरोपितमध्ये एक जनालाई खोटाङबाट तथा अन्यलाई काठमाडौंबाट पक्राउ गरिएको हो। यस प्रकृतिको वित्तीय संस्थासम्बन्धी ठगीको मुद्दा रामेछाप जिल्लामै पहिलो भएको उहाँले बताउनुभयो।

डीएसपी जैसवालले अनुसन्धान अन्तिम चरणमा पुगेको उल्लेख गर्दै केही दिनभित्रै अदालतमा मुद्दा दर्ता गरिने जानकारी दिनुभयो। साथै, प्रहरीले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गरिरहेको उहाँको भनाइ छ।

यसैबिच, पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जिल्लामा आत्महत्या, बैङ्किङ कसुर तथा जबरजस्ती करणीका घटनामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो।