काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा पार्टी विधान संशोधनलाई लिएर विवाद देखिएको छ। महाधिवेशनबाट अनुमोदित व्यवस्था संशोधनका क्रममा तोडमोड गरिएको भन्दै केही केन्द्रीय सदस्यहरूले छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।
केन्द्रीय सदस्य गणेश कार्कीले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गर्नुपर्ने धारणा राख्नुभएको थियो। त्यसक्रममा सभापति रवि लामिछानेले आफ्नै सहकर्मीहरूविरुद्ध छानबिन समिति गठन गर्न आफू तयार नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले आवश्यक परे आफूले नै जिम्मेवारी वहन गर्न तयार रहेको बताउनुभएको जनाइएको छ।
बैठकमा मन्त्रीहरूले नियमित रूपमा पार्टीलाई ब्रिफिङ गर्नुपर्ने प्रस्तावबारे पनि छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट नेताहरूले उक्त प्रस्तावप्रति असहमति जनाउँदै यसले सरकार र पार्टीबीच अनावश्यक द्वन्द्व सिर्जना हुन सक्ने धारणा राख्नुभएको बताइएको छ।
बैठकमा विधान संशोधन, महाधिवेशन व्यवस्थापन तथा पार्टीको आन्तरिक कार्यशैलीलगायत विषयमा विभिन्न धारणा प्रस्तुत भएका छन्। पार्टीभित्र उठेका विषयमा आगामी बैठकमा थप छलफल हुने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्