जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १०:२६

लकडाउनकाे बेला युवाको सृजना, आज रामेछापको गौरव : बिटार पार्क बनेको छ सबैको आकर्षण


रामेछाप, साउन १४ । कोभिड–१९ महामारीका कारण देशभर लकडाउन थियो। सडक सुनसान थिए, जनजीवन ठप्प थियो। अधिकांश मानिस घरभित्र सीमित थिए। तर त्यही कठिन समयमा रामेछापका केही युवाले निराशालाई सिर्जनामा बदल्ने साहस गरे। उनीहरूले रामेछाप नगरपालिका–८ बिटारको खाली चौरलाई आफ्नै श्रम, कला र कल्पनाले सजाउन थाले। आज त्यही प्रयास ‘बिटार पार्क’का रूपमा रामेछापको परिचय र गौरव बनेको छ।

सुरुआती चरणमा युवाहरूले ढुङ्गामा नेपालको चिनारी झल्किने सगरमाथा, खुकुरी, राष्ट्रिय झण्डा, धरहरा लगायतका आकृति कुँदे। पार्कभित्र रहेका रुखका फेद र ढुङ्गामा आकर्षक रङरोगन गरे। कुनै ठूलो बजेट वा सरकारी योजना नभई युवाको सिर्जनशील सोच र श्रमबाट सुरु भएको यो अभियान अहिले जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ।

कोभिडको सुनसान समयलाई सिर्जनामा बदलेका युवाको प्रयासले जन्माएको पार्क आज पर्यटन, मनोरञ्जन र सिकाइको केन्द्र

युवाको यही अभियानलाई पछि सरकारी निकायहरूले पनि साथ दिए। डिभिजन वन कार्यालयले पार्कको घेराबारा तथा आधारभूत संरचना निर्माण गर्यो। त्यसपछि बागमती प्रदेश सरकार र रामेछाप नगरपालिकाको सहयोगमा शौचालय, बालबालिकाका खेल सामग्री, विभिन्न जीवजन्तुका प्रतिमा, फूलबारी तथा अन्य पूर्वाधार थपिए। यसरी सानो पहलबाट सुरु भएको स्थान क्रमशः व्यवस्थित पार्कमा परिणत भयो।

अहिले बिटार पार्क रामेछाप सदरमुकाम मन्थली पुग्ने स्थानीय तथा बाह्य पर्यटकका लागि घुमफिर गर्ने प्रमुख गन्तव्य बनेको छ। बिहान–बेलुकाको फुर्सदमा परिवार, बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसम्म यहाँ पुगेर प्राकृतिक वातावरणमा समय बिताउने गरेका छन्।

पार्क संरक्षणमा सक्रिय दिनेश सार्कीका अनुसार पार्कमा आउने आन्तरिक पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको छ। पार्कको संरक्षण, सरसफाइ र व्यवस्थापनलाई दिगो बनाउन यही साउन महिनादेखि प्रतिव्यक्ति २० रुपैयाँ प्रवेश शुल्क लागू गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार पार्कलाई अझ व्यवस्थित बनाउन अझै धेरै काम गर्न बाँकी छ।

रामेछापका पत्रकार सागर बोहराले मन्थलीबाट सबैभन्दा नजिक र सहज रूपमा पुग्न सकिने घुमफिरस्थल बिटार पार्क रहेको बताउँदै यसको संरक्षण र विकासमा सबैको साझा दायित्व रहेको धारणा व्यक्त गर्नुभयो।

केब्स इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल केशव तिमल्सिनाले बिटार पार्कलाई रामेछापको गहनाका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार पार्क मनोरञ्जनको थलो मात्र नभई बालबालिकाका लागि नेपालको पहिचान, वनस्पति तथा जीवजन्तुबारे सिक्ने खुला कक्षाकोठासमेत बनेको छ।

कोभिडको कठिन समयमा केही युवाले रोपेको सिर्जनाको बीउ आज रामेछापको पर्यटन प्रवर्द्धन, सामुदायिक एकता र स्थानीय पहिचानको प्रतीक बनेको छ। यसले इच्छाशक्ति, श्रम र सामूहिक प्रयास भए सामान्य ठाउँलाई पनि आकर्षक गन्तव्यमा रूपान्तरण गर्न सकिने सन्देश दिएको छ। अब यसलाई अझ सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउँदै भावी पुस्ताका लागि संरक्षण गर्नु सबैको साझा जिम्मेवारी बनेको छ।