जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १०:५६

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता


काठमाडौँ, साउन १४ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। सभामुख अर्यालले बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति तथा संसद्का कामकारबाहीबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।

संसद्मा भइरहेका गतिविधि, विभिन्न विधेयकको अवस्था तथा प्रतिनिधि सभाको कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र संवर्द्धनमा संसद्को भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो।

नियमित भेटघाटका क्रममा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा समेत संक्षिप्त छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।