जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार २०:२६

देवानगञ्ज घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन मधेशकेन्द्रित दलको माग


काठमाडौं, साउन १४  । मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन् ।

जसपाका महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनीहरूले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्ने उल्लेख गर्दै उनीहरूले घटनापछि भएको प्रहरी हस्तक्षेप र दमनबारे गम्भीर प्रश्न उठेको बताएका छन् ।

संयुक्त वक्तव्यमा प्रधानमन्त्री पाँच दिनसम्म मौन बसेको र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएको दाबी गर्दै प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गरी शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति नागरिकलाई आश्वस्त पार्नुपर्ने माग गरिएको छ ।

घटनामा मृत्यु भएकालाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारको दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारी तथा सामाजिक सुरक्षा उपलब्ध गराउन पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

यस्तै, घटनामा बाह्य तत्व, रोहिंग्या वा अन्य कुनै संगठित समूहको संलग्नता भए–नभएको विषय स्वतन्त्र र निष्पक्ष अनुसन्धानबाट स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ । बल प्रयोगमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई अनुसन्धान अवधिभर निलम्बन गरी सुरक्षा व्यवस्थामा भएको कमजोरी र बल प्रयोगको औचित्यमाथि छानबिन गर्नुपर्ने पनि उनीहरूले बताएका छन् ।

घाइतेहरूको निःशुल्क उपचार, आवश्यक राहत तथा प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज तथा धार्मिक अगुवासँग समन्वय गर्न सरकारलाई आग्रह गरिएको छ ।

मधेशकेन्द्रित दलहरूले सर्वसाधारणलाई संयम र धैर्यता अपनाउँदै अफवाह, घृणा तथा उत्तेजनाबाट टाढा रहन अपिल गरेका छन् । निष्पक्ष छानबिन र न्यायबिना नागरिकको विश्वास पुनःस्थापित हुन नसक्ने भन्दै उनीहरूले सरकारलाई सत्य, न्याय र उत्तरदायित्वको बाटोमा अघि बढ्न आग्रह गरेका छन् ।