जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार २०:२२

पूर्वराजा ज्ञानेन्द्रको अपिल : ‘नेपाली मिल्नु आजको आवश्यकता’


काठमाडौं, साउन १४ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने गरी भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै नेपालीबीचको एकता र मेलमिलाप आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी ‘सद्भाव सन्देश’मा पूर्वराजाले सुनसरीका केही गाउँबस्तीमा उत्पन्न द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेशका अन्य क्षेत्रमा समेत फैलिँदा जनजीवन अशान्त बनेकोप्रति दुःख व्यक्त गर्नुभएको हो ।

नेपाल निर्माणकालदेखि नै विभिन्न जातजाति, भाषा र धर्मावलम्बी आपसमा मिलेर बस्दै आएको उल्लेख गर्दै उहाँले नेपाली समाजको बहुजातीय र बहुभाषिक विशेषता तथा एकअर्काको धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिएको बताउनुभएको छ ।

समाजको यही गौरव र गरिमामा कुनै पनि पक्षबाट खलल पुर्‍याउन नहुनेमा जोड दिँदै पूर्वराजाले समुदायबीच कायम सामञ्जस्यलाई कमजोर बनाउने घटना र गतिविधि चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ ।

यस्ता गतिविधि नेपालको मौलिक मूल्य र मान्यताविपरीत रहेको भन्दै उहाँले देशका जुनसुकै भूभागमा रहेका नेपालीलाई आपसी मेलमिलाप र सद्भाव कायम गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ ।

“हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो,” पूर्वराजाको सन्देशमा भनिएको छ ।

सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।