काठमाडौं, साउन १४ । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिन गर्न मधेश प्रदेश प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा इन्स्पेक्टर यज्ञराज भट्ट र असई गोविन्द झा सदस्य रहेका छन् ।
समितिलाई गोलबजार घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ ।
समितिले घटनास्थलको स्थलगत निरीक्षण, सम्बन्धित पक्षसँग छलफल तथा आवश्यक प्रमाण संकलन गर्नेछ । त्यसका आधारमा घटनाको सत्यतथ्य समेटिएको प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाउने बताइएको छ ।
गोलबजारमा साम्प्रदायिक तनावका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनापछि छानबिन समिति गठन गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्