जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार ०८:५३

सिक्री लुटपाटका आरोपी पक्राउ गर्न प्रहरीले चलायो गोली, खुकुरीसहित कर्मा तामाङ नियन्त्रणमा


काठमाडौं, साउन १७ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाटको घटनामा संलग्न भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति कर्मा तामाङ हुन् । उनलाई साउन १६ गते राति करिब १०:२५ बजे पक्राउ गर्ने क्रममा उनले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि तीन राउण्ड गोली चलाएको जनाएको छ।

गोली लागेर घाइते भएका तामाङलाई तत्काल नियन्त्रणमा लिई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ। उनको उपचार भइरहेको छ।

प्रहरीले तामाङको साथबाट घटनामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।