जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार ०९:३९

सप्तरी र सिरहामा कर्फ्यु आंशिक खुकुलो, अत्यावश्यक सेवा र सद्भाव र्‍यालीका लागि प्रशासनको सहजीकरण


काठमाडौं, साउन १७ । सप्तरी जिल्ला प्रशासन कार्यालय, राजबिराजले अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिद–बिक्री सहज बनाउन आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु आदेश आंशिक रूपमा खुकुलो पारेको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको समयपछि कर्फ्यु आदेश पूर्ण रूपमा पालना गर्न तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सबै नागरिकलाई आग्रह गरेको छ। प्रशासनको पूर्वअनुमति लिएर आयोजना गरिने सद्भाव र्‍यालीलाई समेत मध्यनजर गर्दै कर्फ्यु आदेश केही समयका लागि खुकुलो बनाइएको जनाएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कर्फ्यु खुकुलो भएको अवधिमा पनि हुलदंगा, अशान्ति वा अन्य कुनै अवाञ्छित गतिविधि गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिनेछ।

सुनसरी घटनापछि उत्पन्न तनावलाई दृष्टिगत गर्दै सप्तरीको बोदेबरसाइन क्षेत्रमा साउन १४ गते राति १० बजेदेखि तथा राजबिराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाले पनि गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि आंशिक रूपमा खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो।

प्रशासनले स्थानीय सुरक्षा अवस्थाको थप मूल्यांकनपछि कर्फ्यु आदेशलाई थप खुकुलो बनाउने वा आवश्यक परे पुनः कडाइ गर्नेबारे निर्णय गरिने जनाएको छ। साथै, कर्फ्यु खुकुलो भएको अवधिमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गर्दै पाँच जनाभन्दा बढी व्यक्ति समूहमा भेला नहुन सबैसँग अनुरोध गरिएको छ।

सुनसरी घटनापछि सिर्जित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनदेखि गोलबजार क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मूल्यांकन गर्दै दिनको समयमा नागरिकको दैनिक जीवन सहज बनाउन प्रशासनले कर्फ्यु आंशिक रूपमा खुकुलो बनाएको जनाएको छ।