रामेछाप, साउन १८ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिकै आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा कारमा सवार चार जना बेपत्ता भएका छन्।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए। कार तथा त्यसमा सवार व्यक्तिहरूको उद्धार हुन सकेको छैन।
दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ।
घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक रहेको नवलपुरघाट क्षेत्रमा पर्दछ। सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
प्रहरी, सशस्त्र प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भई बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्