जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १५:२९

प्युठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक बरामद, अनुसन्धान जारी


काठमाडौं, साउन १८। नेपाल प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त हतियार तथा पार्टपुर्जा फेला पारेको हो।

बरामद गरिएका सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बन्दुकको बटको कुन्दा तथा ३ थान भरुवा बन्दुकका चाप रहेका छन्।

प्रहरीले बरामद गरिएका हतियार तथा सामग्री नियन्त्रणमा लिएको जनाएको छ। ती अवैध हतियार कसले, कहिले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।