काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई न्याय दिन सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले जेनजी आन्दोलनका घटनामा दोषी देखिएकामाथि कारबाही गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनसम्बन्धी अनुसन्धान पूरा गरी सरकारलाई सिफारिस पठाइसकेको उल्लेख गर्दै दोषीमाथि कारबाही हुन नसकेको भन्दै प्रश्न उठाउनुभयो । आयोगले २०८३ जेठमा अनुसन्धान प्रतिवेदनका आधारमा सरकारलाई कार्यान्वयनका लागि सिफारिस पठाएको थियो ।
शाहीले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिकी आमा संसद्मा रोइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? ती आमाको आँखाको आँसु पुछ्नुस् ।”
शाहीले आन्दोलनका घटनामा जोसुकै संलग्न भए पनि छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले संसद्मा एक जना सांसद रोइरहेका बेला सरकार सञ्चालन गर्नेहरू कसरी चुपचाप बस्न सक्छन् भन्दै प्रश्नसमेत गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस्