जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार २०:४४

भरत दाहाल पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं, असोज ६ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई पक्राउ गर्नुको आधार र कारण खुलाउन आदेश दिँदै उहाँलाई अदालतमा उपस्थित गराउन भनेको हो ।

दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ पर्नुभएको थियो । उहाँकी छोरी डेनिका दाहालले पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि दाहाललाई मोरङबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । उहाँमाथि आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तिहरूसँग सम्बन्धित तथ्यहीन वा भ्रामक सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाहालले पछिल्लो समय समसामयिक राजनीति, भूराजनीतिक घटनाक्रम तथा सरकारका गतिविधिबारे विभिन्न धारणा सार्वजनिक गर्दै आउनुभएको थियो ।

अब सरकारले दाहाललाई पक्राउ गर्नुको कानुनी आधार र कारण अदालतसमक्ष पेश गर्नेछ । त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिटमाथि थप सुनुवाइ हुनेछ ।